पोखरा । कास्की प्रशासनले पोखरामा पहिलोपटक आयोजना हुन लागेको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगितालाई सफल बनाउन आवश्यक सुरक्षा प्रबन्ध र समन्वयलाई प्राथमिकता दिने जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको विहिबार पोखरामा आयोजित छलफल कार्यक्रममा स्पष्ट पार्नुभएको हो ।
लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्टमा आयोजित सुरक्षा निकायको छलफलमा बोल्दै बरालले निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गर्दै सुरक्षा व्यवस्थापनमा कुनै कमी हुन नदिने बताउनुभयो । उहाँले नयाँ इभेन्टका रूपमा रहेको यस प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताको सफल आयोजनाका लागि शनिबार बेलुका ७ः३० बजेदेखि ८ः३० बजेसम्म सम्बन्धित रुटमा सवारी आवागमन व्यवस्थापन गरिने जनाइएको छ । प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारण, यातायात व्यवसायी तथा विभिन्न संघ–संस्थालाई अनुरोध समेत गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले दौडको क्रममा सवारी साधनलाई आवश्यक स्थानमा रोक्ने तथा डाइभर्सनको व्यवस्था मिलाउने जनाएको छ । साथै, रुटका केही स्थानमा रहेका खाल्डाखुल्डी तथा अपर्याप्त प्रकाश व्यवस्थालाई सुधार गर्न जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले सुझाव समेत दिनुभयो ।
पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक बासुदेव कुँवरले पर्यटक प्रहरीले पनि प्रतियोगितालाई सुरक्षित रूपमा सम्पन्न गर्न समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले तालबराही स्कुल त्यसैगरी नारेश्वर लगायतका भित्री सडकलाई डाइभर्सनको रुपमा उक्त प्रतियोगिता अवधिभर प्रयोग गर्न आग्रह गर्नुभयो ।

रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतमले पोखरामा ह्यापनिङ को रुपमा रहेको हुँदा यस नयाँ इभेन्टलाई आफूहरूले आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखराको नयाँ इभेन्टको रूपमा रहेको उक्त रात्रिकालिन सडक दौडलाई सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो । प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले पोखराको सभागृह चोक र बीपीचोकमा धावकहरूको आफुहरुले चेकिङ गरिने उल्लेख गर्नुभयो।
पोखरा प्रवर्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले सेफ्टी र सेक्युरिटी प्रतियोगिताको मुख्य चुनौती रहेको हुँदा उक्त चुनौतीको सामना गर्न सुरक्षा निकायहरूसँगको छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पोखरामा रात्रिकालीन व्यवसाय पोखरामा खेलकुदको सम्भावना पोखरामा धेरै सम्भावनालाई उक्त प्रतियोगिताले सन्देश दिने गरेको प्रतियोगिताका संयोजक दिननाथ बरालले बताउनुभयो ।
प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० जना धावक सहभागी गराउने गरी दर्ता सूचीकृत भएको केन्द्रका सचिव सागर सुनारले जनाउनुभयो।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने उक्त प्रतियोगिता शनिबार बेलुका ७ः३० बजे बराईघाटबाट सुरु सेन्टर प्वाइन्ट, हल्लनचोक, जरेवर, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा हुदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फ विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । सहभागी धावकलाई बिमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघ–संस्थाको सहयोगमा प्रतियोगिता आयोजना हुने भएको हो ।
प्रतियोगितामा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धकका रुपमा रहेका छन भने प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कुल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, रेवान पोखरा, पोखरा पर्यटन परिषद्, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, पोखरा वडा नं. ३, ५, ६, ७, ८, ११, जिल्ला खेलकुद विकास समिति कास्कीको सहयोग हुने भएको छ । त्यसै गरी टान गण्डकी, पोखरेली ट्याक्सी सेवा प्रा.लि., पोखरा उद्योग वाणिज्य संघ, समियोग टुरिष्ट रिसोर्ट, नाट्टा गण्डकी, पोखरा महानगरपालिका खेलकुद विकास समिति, टेम्पल ट्रि रिसोर्ट, गो बन्जी नेपाल, नेपाल हवाई खेलकुद संस्था (ना) व्यञ्जन रेस्टुरेन्ट, सहित विभिन्न संघ संस्थाको सहयोग रहने छ भने मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनर रहेका छन् ।




