newa srijana

बीपी स्मृति दिवसमा कांग्रेस कास्कीद्वारा विविध कार्यक्रम

पोखरा ।  नेपाली कांग्रेस कास्कीले ४४औँ बीपी स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ। दिवसका अवसरमा वक्तृत्वकला तथा पोखरा पर्यटनसम्बन्धी नीति लेखन–प्रस्तुतीकरण प्रतियोगिता आयोजना गर्नुका साथै पार्टीले सञ्चालन गरेको ‘जरा अभियान’ पनि समापन गरिएको छ।

नेपाली कांग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलका अनुसार नीति लेखन–प्रस्तुतीकरण प्रतियोगितामा ११ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप सिग्देल द्वितीय तथा सङ्गीता गौतम तृतीय भए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै ‘बीपीबाट आजका युवाले के सिक्ने ?’ विषयक वक्तृत्वकला प्रतियोगितामा १२ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा एसओएसकी प्रेरिका बराल प्रथम, लक्ष्मी आदर्श माध्यमिक विद्यालयकी सम्झना बेलवासे द्वितीय, एसओएसकै अनुजा गौतम तृतीय तथा रामज्योति माध्यमिक विद्यालयकी स्वेच्छा परियार सान्त्वना भइन्।

सिटीजन फनिच्रर

बीपी स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतियोगीहरूको प्रस्तुति पनि समावेश गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, आठ हजार, पाँच हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपी कोइरालाले देश र जनताको हितमा निडरतापूर्वक काम गरेको उल्लेख गरे। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बीपीका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताइन्।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता धर्म अधिकारीले बीपीको राजनीतिक योगदान र साहित्यकार सञ्जीव पौडेलले उनको साहित्यिक योगदानबारे चर्चा गरे। नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका प्रवक्ता धनञ्जय पौडेलले कास्कीमा सञ्चालन गरिएको जरा अभियानअन्तर्गत अद्यावधिक क्रियाशील सदस्यताको अवस्थाबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले गरेका थिए भने उपसभापति युवराज कुँवरले धन्यवाद ज्ञापन गरेका थिए।

Pokhara learners