newa srijana

महायज्ञबाट मानवसेवा आश्रमलाई ३ करोड ४ लाख बचत

मानवसेवा आश्रमलाई महायज्ञबाट ३ करोड भन्दा बढी बचत, पूर्वाधार विस्तारमा खर्च गरिने

पोखरा । मानवसेवा आश्रमको कास्की हेमजा शाखाको भौतिक पूर्वाधार विकास तथा सेवा विस्तारका लागि आयोजित श्रीमद्भागवत सप्ताह, पितृ–उद्धार ज्ञान–विज्ञान महायज्ञ–२०८३ बाट ३ करोड ४ लाख ५९ हजार १८४ रुपैयाँ बचत भएको छ ।

महायज्ञ मूल संयोजक अनिलकुमार शाहीले सोमबार आय–व्यय सार्वजनिक गर्दै महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७७१ रुपैयाँ दान संकलन भएको र कार्यक्रम सञ्चालनमा ७७ लाख १२ हजार ५८७ रुपैयाँ खर्च भएको जानकारी दिए ।

उनका अनुसार संकलित रकम आश्रमको मुख्य भवनलाई पूर्णता दिन, लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्न गर्न तथा अक्षयकोष सुदृढ बनाउँदै आश्रमको सेवा दीगो बनाउन उपयोग गरिनेछ । महायज्ञ गत वैशाख १९ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । संयोजक शाहीले नगद, चेक, क्यूआर कोडमार्फत अनलाइन दान, व्यक्ति तथा संस्थागत प्रतिबद्धता, स्थानीय तह, जिन्सी सहयोग, दान पेटिका तथा गोप्यदानबाट सहयोग प्राप्त भएको बताए ।

सिटीजन फनिच्रर

महायज्ञ मूल आयोजक समितिकी कोषाध्यक्ष मीना कुँवरका अनुसार मुख्य भवन निर्माणका लागि १ करोड ४२ लाख ८२ हजार ७६० रुपैयाँ, अक्षयकोषका लागि ४९ लाख ७३ हजार ५८६ रुपैयाँ, मुक्तिनाथ सेवा धर्मशालाका लागि २१ लाख १८ हजार ८२१ रुपैयाँ, महायज्ञ व्यवस्थापनका लागि १२ लाख ५१ हजार ३२५ रुपैयाँ, जिन्सी सहयोगको मूल्यांकन ७ लाख ८१ हजार ३९५ रुपैयाँ, दान पेटिकाबाट ४ लाख २२ हजार ५७३ रुपैयाँ तथा लक्ष्मीनारायण मन्दिर निर्माणका लागि २ लाख ७५ हजार २४३ रुपैयाँ संकलन भएको छ ।

आश्रमका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार रामजी अधिकारीले सडकआश्रित मानवमुक्त नेपाल निर्माण गर्ने अभियानलाई निरन्तरता दिइएको बताए । उनले गण्डकी प्रदेश सरकारको सहकार्यमा निर्माणाधीन मुख्य भवनको करिब ८० प्रतिशत काम पूरा भएको र २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

हाल हेमजा केन्द्रमा १६० र छोरेपाटन केन्द्रमा १०० जना आश्रितको संरक्षण भइरहेको छ । उनीहरूको भोजन, स्वास्थ्य सेवा र व्यवस्थापनमा मासिक करिब १९ लाख रुपैयाँ खर्च हुने तथा दैनिक औसत दुई जनाको उद्धार र पुनर्स्थापना भइरहेको अधिकारीले बताए ।

२०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हाल २३ जिल्लामा ३४ वटा सेवा केन्द मार्फत सडक आश्रित, अनाथ, अपांगता भएका तथा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र परिवारसँग पुनर्मिलन गराउँदै आएको छ ।

Pokhara learners