newa srijana

अष्ट्रेलियाबाट कांग्रेस केन्द्रीय सदस्यमा कृष्ण गिरीको दाबी

कांग्रेस केन्द्रीय सदस्यमा कृष्ण गिरी, प्रवासको अनुभव पार्टीमा लगाउने प्रतिबद्धता

पेाखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वसभापति एवं महासमिति सदस्य कृष्ण गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

झापाको अर्जुनधाराबाट २०४७ सालमै बुबाको प्रेरणाबाट कांग्रेस राजनीतिमा जोडिएका गिरीले त्रिचन्द्र क्याम्पस, नेविसंघ झापा तथा नेविसंघ केन्द्रीय समितिका विभिन्न विभागमा रहेर काम गरिसकेका छन्  ।

त्रिचन्द्र क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदा कांग्रेस सभापति गगनकुमार थापा स्ववियु सभापति थिए। गिरी त्यतिबेला स्ववियु सदस्यका रूपमा थापासँगै विद्यार्थी राजनीतिमा सक्रिय थिए। अहिले थापा कांग्रेस सभापति रहेका बेला गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

करिब दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका पेशाले आईटी इन्जिनियर गिरी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वसभापति तथा संरक्षक हुन् । उनी १४औँ महाधिवेशनपछि जनसम्पर्क समिति समन्वय विभागका सदस्य समेत रहेका छन् ।

सिटीजन फनिच्रर

गिरीले कांग्रेसको सूचना प्रविधि, निर्वाचन प्रचारप्रसार तथा प्रवासमा पार्टी संगठन विस्तारका क्षेत्रमा काम गर्दै आएका छन्। भूकम्प, बाढी तथा कोभिड–१९ लगायतका विपत्तिका समयमा अष्ट्रेलियाबाट आर्थिक तथा सामाजिक सहयोग जुटाउन पनि उनले समन्वय गरेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का विभिन्न जिम्मेवारी सम्हालिसकेका गिरीले पछिल्लो निर्वाचनमा सहमतिका आधारमा नेतृत्व चयनका लागि उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका थिए ।

नेपाल–अष्ट्रेलिया सम्बन्ध विस्तार, उच्चस्तरीय बैठक व्यवस्थापन तथा पार्टीका नेता र अन्तर्राष्ट्रिय समुदायबीच समन्वयका क्षेत्रमा समेत सक्रिय गिरीले प्रवासमा हासिल गरेको अनुभवलाई पार्टीको हितमा उपयोग गर्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकेा अष्ट्रेलिया महाधिवेशन प्रतिनिधि राजकुमार अधिकारीले बताए ।

सूचना प्रविधिको प्रयोगमार्फत पार्टी संगठनलाई थप प्रभावकारी बनाउने, प्रवासमा रहेका नेपाली कांग्रेसका समर्थक तथा शुभेच्छुकलाई पार्टीको मूलधारसँग जोड्ने र अन्तर्राष्ट्रिय समुदायसँग कांग्रेसको सम्बन्ध विस्तार गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।

Rabin photo