पोखरा। पोखराको रत्नमन्दिरलाई ऐतिहासिक मौलिकता जोगाउँदै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा पर्यटन व्यवसायी र जनप्रतिनिधिले जोड दिएका छन्। संरक्षणसहित रत्नमन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पोखरामा पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने उनीहरूले बताए।
पोखरा पर्यटन परिषद्ले विजया दशमी, दीपावली, छठ पर्व र नेपाल संवत्को अवसरमा शनिबार लेकसाइडस्थित रत्नमन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले रत्नमन्दिरको संरक्षण र सञ्चालनबारे चर्चा गरेका हुन्।
रत्नमन्दिर पोखराको फेवाताल किनारमा रहेको पूर्वराजदरबार हो। राजा महेन्द्रले सन् १९५६ मा रानी रत्नाका लागि यो दरबार बनाएका थिए। राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र पोखरा आउँदा यहीँ बस्ने गर्थे। गणतन्त्र स्थापना भएपछि रत्नमन्दिरको जिम्मेवारी नेपाल ट्रस्टले लिएको हो।

नेपाल ट्रस्टको बोर्डबाट रत्नमन्दिर छिट्टै पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए। रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्न विगतमा धेरै प्रयास भएको र मन्त्रालयसम्म पुगेर पहल गरिएको उनले स्मरण गराए। हस्तान्तरणपछि निश्चित मापदण्डभित्र रहेर वृक्षरोपणसहितको पर्यटकीय तथा मध्यवर्ती क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए। लेकसाइडका भित्री सडकमा सीसी क्यामेरा जडान गर्ने र खानेपानीको समस्या समाधानका लागि पनि महानगरपालिका लागिरहेको उनले बताए।
मानिस अल्गोरिदम र ग्याजेटमा अल्झिँदा परिवार र समाज शून्य हुँदै गएकोमा मेयर आचार्यले चिन्ता व्यक्त गरे। पुर्खाका कथा तथा परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुन छाडेको उनले औँल्याए। दसैँमा छोराछोरी तथा परिवारसँग समय बिताउन, मौलिकता र संस्कार जोगाउन तथा चाडपर्वमा हुने दुर्घटना रोक्न हतार नगर्न उनले सबैलाई आग्रह गरे।

पर्यटन क्षेत्रमा विभिन्न विपद् र चुनौती आए पनि ‘एक गन्तव्य, एक दृष्टि’ को अवधारणासहित अघि बढ्नुपर्ने परिषद्का अध्यक्ष हरि भुजेलले बताए। पोखराको पर्यटन प्रवर्द्धनका लागि सबै पक्ष एकजुट भएर साझा प्रयास गर्नुपर्ने उनले बताए।
परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटकको आगमन र आवागमनको बलियो केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। पर्यटकीय सम्पदा र गन्तव्यको प्रभावकारी उपयोग गर्दै पर्यटकको बसाइ अवधि बढाउने रणनीति आवश्यक रहेको उनले बताए।

पर्यटन क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै हिम्मतका साथ काम गर्नुपर्ने पूर्वअध्यक्ष डम्बरबहादुर केसीले बताए। चाडपर्वले पर्यटन व्यवसायी तथा पर्यटनकर्मीलाई थप ऊर्जा दिने उनले बताए।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले कठिन परिस्थितिमा पनि पर्यटन व्यवसायी आफ्नो क्षेत्रको उत्थानका लागि संघर्षरत रहेको बताए। सबैलाई आफ्नो क्षमताअनुसार खुसीका साथ चाडपर्व मनाउन उनले आग्रह गरे।
प्रतिकूल परिस्थितिमा पनि पर्यटनको राजधानी पोखराले पुनः उठेर अघि बढ्न सक्ने क्षमता देखाउनुपर्ने लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले बताइन्। पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जोड दिए।
परिषद्का महासचिव मिलन तिवारीले सञ्चालन गरेको कार्यक्रमको समापन प्रथम उपाध्यक्ष हरिराम अधिकारीले गरे। कार्यक्रममा विभिन्न व्यवसाय र संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।




