पोखरा । सरकारले हालै स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नेपालमा अब १८ देखि ३५ वर्ष उमेर समूहका नागरिकलाई मात्रै युवा मानिने भएको छ। यसअघि प्रचलनमा रहेको ‘राष्ट्रिय युवा नीति–२०७२’ मा युवाको उमेर १६ देखि ४० वर्ष तोकिएको थियो।
नयाँ नीतिमा स्पष्ट गरिएको छ, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार नेपालको सन्दर्भमा १८ देखि ३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ।” यसको अर्थ विगतमा १६–४० वर्षकै आधारमा गनिने युवावर्ग अब संकुचित हुँदैछ।
२०७८ सालको जनगणनाअनुसार १६ देखि ४० वर्षका जनसंख्या करिब ४२.५६ प्रतिशत रहेको थियो। तर नयाँ नीतिसँगै यो तथ्यांक पुनः गणना गर्नु आवश्यक हुनेछ। पुरानो दायरामा पर्ने लाखौँ नागरिक अब ‘युवा’ श्रेणीबाट बाहिरिने भएका छन्।
नयाँ संरचना तयार गर्दा बालबालिकासम्बन्धी कानुनलाई समेत आधार बनाइएको छ। बालबालिका ऐनअनुसार १८ वर्ष पुग्दा बालबालिकाको श्रेणी सकिन्छ र त्यसपछि मात्र व्यक्तिलाई युवा भनिने प्रावधान छ। यही आधारमा नेपालले १८–३५ वर्ष उमेर समूहलाई युवा मान्ने निर्णय गरेको हो।
विश्वस्तरमा युवाको उमेर दायरा फरक–फरक देखिन्छ। संयुक्त राष्ट्रसंघले १५–२४ वर्ष उमेर समूहलाई युवा मानेको छ भने भारतमा पनि सोही दायरा प्रचलनमा छ। तर नेपालको सामाजिक संरचना र स्थानीय परिस्थिति अनुसार केही फरक प्रावधान लागू गरिएको छ।
हालै स्वीकृत नीतिसँगै ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ पनि संशोधन गर्नुपर्ने हुन्छ। कानूनी रूपमा अहिलेसम्म युवाको उमेर दायरा १६–४० वर्ष नै रहेको बताइन्छ। ऐन संशोधन भएपछि मात्र नयाँ नीतिको प्रावधान पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।
युवा नीतिलाई हरेक पाँच वर्षमा परिमार्जन गर्ने व्यवस्था भए पनि नेपालले दशकपछि मात्रै यसमा संशोधन गरेको हो। यसपटकको परिवर्तनसँगै नेपालमा युवाको परिभाषा स्पष्ट र संकुचित स्वरूपमा आएको छ।
