newa srijana

पुरानकोटमा होमस्टे व्यवस्थापन तालिम, ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

पोखरा । लमजुङको पुरानकोट मा त्रिदिवसीय घरवास (होमस्टे) व्यवस्थापन तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश को आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश समिति को सह–आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको समन्वयमा आयोजित तालिममा ४० जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटा ले जानकारी दिइन् । तालिममा होमस्टे सञ्चालन, पाहुना सत्कार, सरसफाइ, व्यवस्थापन, स्थानीय संस्कृतिको संरक्षण तथा पर्यटन सेवाको गुणस्तर अभिवृद्धिबारे व्यावहारिक ज्ञान प्रदान गरिएको उनले बताइन् ।

तालिममा भिटोफ गण्डकीका सल्लाहकार टिकाराम सापकोटा, रामजी शर्मा तथा दीपेन्द्र पहारी ले सहजीकरण गरेका थिए । साथै रुकु थापा ले हाउसकिपिङ र सजिना गुरुङ ले सांस्कृतिक नृत्यसम्बन्धी कक्षा सञ्चालन गरेका थिए ।

World link net

तालिममा पुरानकोट, नाल्मा, तुर्लुङकोट, काउलेपानी तथा नरुवाल मगर होमस्टेका सञ्चालकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता व्यावहारिक तालिमले सेवा गुणस्तर सुधार गर्न, पर्यटक आकर्षित गर्न तथा स्थानीय आयआर्जन बढाउन सहयोग पुग्ने बताएका छन् ।

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल ले होमस्टेमार्फत गाउँको समृद्धि सम्भव रहेको बताइन् । गण्डकी प्रदेशका होमस्टेहरूको स्तरीकरण गर्ने तयारी भइरहेको उल्लेख गर्दै उनले स्तरीकरण भएका होमस्टेलाई वेबसाइटमार्फत अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिने जानकारी दिइन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने ले ग्रामीण पर्यटनको सम्भावना उच्च रहेको बताउँदै होमस्टे पर्यटनले स्थानीय आयआर्जन र मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पद्मा गुरुङ, गमबहादुर गुरुङ, रविन्द्र पौडेल तथा कन्याकाशी गुरुङ लगायतले ग्रामीण पर्यटन विकासमा होमस्टेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

सिटीजन फनिच्रर