barahi

विदेश जाने १५ प्रतिशतले बढे, मासिक ६५ हजार जना विदेशिँदै

६ महिनामा औसतमा प्रत्येक महिना ६५ हजार ५११ जनाले श्रम स्वीकृति लिए

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा (०८१ साउन १ गतेदेखि पुस मसान्तसम्म) वैदेशिक रोजगारीमा जान तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट तीन लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ५२ हजार ७३७ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागले जारी गरेको विवरणअनुसार, २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा तीन लाख ४८ हजार २४१ जना पुरुष र ४४ हजार ८२६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.४० प्रतिशत संख्या महिलाको छ ।

Sadak 1

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसतमा प्रत्येक महिना ६५ हजार ५११ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.