पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम)को परिकल्पनामा बनिरहेको नेपाली चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन प्रालि पोखराको ब्यानरमा बनिरहेको चलचित्रको अन्तिम दृश्य मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा छायांकन गरिएको हो।
गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित चलचित्रमा ऐतिहासिक कथा देखाइएको छ। असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको चलचित्रको छायांकन सिक्लेस र आसपासका क्षेत्रमा भएको थियो। चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।

चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन्। संस्कृति गुरुङका लागि ‘बुकी फूल’ पहिलो चलचित्र हो। पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ, प्रकाश घिमिरेलगायतले पनि अभिनय गरेका छन्। छायांकन सुसान प्रजापतिले गरेका हुन् भने कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन्।
चलचित्रका निर्माण व्यवस्थापक डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै सम्पूर्ण छायांकन सकिएको हो। अब छिट्टै सम्पादन सुरु गर्ने उनले बताए। छायांकनमा सहयोग गर्ने कलाकार, प्राविधिक र स्थानीयप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ।




