पोखरा । लमजुङको दोर्दी गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
गाउँपालिका केन्द्र नौथर शेरामा गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरको संयुक्त आयोजनामा २ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो।
गाउँपालिकाले यसअघि लिएको बालमैत्री स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता कार्यन्वयनका सन्दर्भमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को समेत सहकार्यमा कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक, वडा सचिवहरु, स्वास्थ्य चौकी प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरुसहित सरोकारवालालाई विज्ञ प्रशिक्षकद्धारा अभिमुखीकरण गराइएको छ । कार्यक्रममा दोर्दी गाउँपालिका बालसञ्जालका बालबालिका सदस्यहरुको समेत सक्रिय सहभागीता रहेको थियो ।
मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह निर्माणका लागि सवै सरोकारवालाको सक्रिय सहभागीता र उत्तरदायित्वको अपेक्षा गरिएको बताए । गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमबारे स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यक्रम अधिकृत हेमराज थापा र प्रशिक्षक विष्णु चौवेले जानकारी गराएका थिए । प्रशिक्षकले बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने सूचकहरु, क्षेत्रहरु र सरोकारवालाको जिम्मेवारीका सम्बन्धमा अभिमुखीकरण गराएका थिए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले २०८७ सम्ममा सवै स्थानीय तहहरु बालमैत्री स्थानीय शासनयुक्त हुनुपर्ने नेपाल सरकारको लक्ष्यलाई सहायता गर्न आगामी १ वर्षभित्रै दोर्दी गाउँपालिकालाई स्थानीय बालमैत्री शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रमका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसंग साझेदारी गरी कार्यक्रम आयोजना गरिएको बताए । उनले सबै सरोकारवालाहरु अभिमुखीकरण कार्यक्रममा उत्साहित देखिएको र यसले लक्षित अवधिभित्रै घोषणा गर्ने वातावरण निर्माण गर्नेमा विश्वस्त रहेको बताए ।
बालमैत्री स्थानीय शासन अवलम्बन, कार्यन्वयन र घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार पनि सञ्चालन हुनेछ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आवश्यक कार्यक्रम र बजेट व्यवस्थापन गरेको जनाएको छ ।
कार्यक्रममा दोर्दी गाउँपालिका बालसञ्जालका बालबालिका सदस्यहरुको समेत सक्रिय सहभागीता रहेको थियो । कार्यक्रमले बालअधिकार सुनिश्चितताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकले दावी गरेका छन् ।





