newa srijana

पोखरामा २१५३औँ ग्याल्पो ल्होसार मनाइयो

पोखरा‌‌ । शेर्पा समुदायको महान पर्व २१५३औँ मे फा ता लो ग्याल्पो ल्होसार पोखरामा मनाइएको छ। पोखरा शेर्पा समाज कास्कीले बुलौदीस्थित हिमचुली पार्टी प्यालेसमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा लोपेन गोम्पु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। ग्याल्पो ल्होसारले शेर्पा समुदायको ऐतिहासिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक मौलिकतालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। भाषा, भेषभूषा, परम्परा र संस्कारको संरक्षणका लागि नयाँ पुस्तालाई सचेत र सक्रिय बनाउन आवश्यक रहेकोमा उनले जोड दिए।

पूर्वाञ्चल सेवा समाजका अध्यक्ष बालकुमार लुईटेलले ल्होसार पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश फैलाउने बताए। यस्ता सांस्कृतिक कार्यक्रमले सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।

सिटीजन फनिच्रर

कार्यक्रममा शेर्पा समुदायको मौलिक स्याब्रु नृत्य प्रस्तुत गरियो। पारम्परिक पोशाकमा सजिएका कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई रौनकता थप्यो। त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका लाक्पा शेर्पालाई सम्मान गरी शिक्षा क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गर्ने सन्देश दिइयो।

ग्याल्पो ल्होसारको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै समुदायबीच एकता, सहकार्य र आपसी सहयोगको भावना विकास गर्नुपर्नेमा विभिन्न वक्ताले जोड दिए। सहभागीहरूले एकअर्कालाई शुभकामना आदान–प्रदान गर्दै पर्वको उल्लास साझा गरे।

पोखरा शेर्पा समाजले आगामी दिनमा पनि समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रम समाजका अध्यक्ष राजेश शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन दावा छिरिङ शेर्पाले गरेका थिए। कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

अनिल multipurpose
आहा रारा
वडा नं २६