newa srijana

पाँच वर्षपछि पोखरामा खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप: ८ देशका ८७ पाइलट सहभागी

चैत ५ देखि ७ गतेसम्म सराङकोटबाट टेकअफ, एक्युरेसी विधामा प्रतिस्पर्धा

पोखरा । पाँच वर्षको अवकाशपछि पोखरामा फेरि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ।

२१औं संस्करणको यो प्रतियोगिता आगामी चैत ५ देखि ७ गतेसम्म आयोजना हुनेछ। नेपाल हवाई खेलकुद संस्था (ना) का अनुसार हालसम्म नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनान गरी आठ देशका ८७ पाइलटले अनलाइनमार्फत नाम दर्ता गराइसकेका छन्। चैत ३ गतेसम्म नाम दर्ता खुला रहनेछ।

कोभिड–१९ महामारी र सोलो उडानमाथिको प्रतिबन्धका कारण प्रतियोगिता रोकिएको थियो। त्यसपछि केही समयअघि पुनः सोलो उडान बन्द हुँदा प्रतियोगिता थप अन्योलमा परेको थियो। हालै मात्र सोलो उडान पुन: सञ्चालनमा आएपछि प्रतियोगिता आयोजनाको तयारी थालिएको हो।

यसपटक प्रतियोगिता एक्युरेसी विधामा सञ्चालन गरिनेछ। व्यक्तिगत र टिम दुवै विधामा प्रतिस्पर्धा हुनेछ। विजेताले डेढ लाख, दोस्रोले एक लाख र तेस्रोले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यो व्यवस्था व्यक्तिगत र टिम दुवैतर्फ समान छ।

सिटीजन फनिच्रर

टेकअफ स्थलका रूपमा सराङकोट र ल्यान्डिङका लागि खपौदी तोकिएको छ। सम्बन्धित निकायबाट अनुमति नपाएमा तोरपानीबाट टेकअफ गरी हर्पन वा भकुण्डे क्षेत्रमा ल्यान्डिङ गर्ने वैकल्पिक योजना पनि बनाइएको प्रतियोगिता संयोजक सुनिल भट्टराईले बताए।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले प्रवर्धन गरेका छन्। प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा पर्यटन परिषद्, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबले सहयोग गरेका छन्।

नेपाल प्याराग्लाइडिङ पाइलट क्लबसँग आबद्ध २५ पाइलट यो प्रतियोगितामा सहभागी हुँदैछन् जसमा केही महिला पाइलट पनि छन्। यीमध्ये १८औं एसियन गेममा नेपाललाई रजत पदक दिलाएका पाइलट पनि सहभागी छन्। हाल ४१६ जना व्यावसायिक पाइलट दर्ता भएकामध्ये २७२ कार्यरत छन्। प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न पाइलटहरू अहोरात्र खटिरहेका छन्। क्लबका अध्यक्ष लक्ष्मण बहादुर थापाका अनुसार यस्ता आयोजनामा सदैव सहयोग गर्दै आएको संस्थाले भविष्यमा थप देशका खेलाडी समावेश गर्ने लक्ष्य राखेको छ।

पोखरामा हाल ६० भन्दा बढी व्यावसायिक प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। करिब ३ सय ६६ टेन्डम र १ सय ४० सोलो पाइलट यहाँ कार्यरत छन्। आयोजकहरूका अनुसार यो प्रतियोगिताले पोखराको साहसिक खेल पर्यटन प्रवर्धनका साथै १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत टेवा पुग्नेछ।

अनिल multipurpose