पोखरा । पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालका पदाधिकारी तथा व्यवसायीहरूको टोलीले आज नेपाल खानेपानी संस्थान, पोखरा पुगेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ।
पोखरा पर्यटनको राजधानीका रूपमा परिचित भए पनि प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रमा दैनिक खानेपानी अभाव हुन थालेपछि संस्थानको ध्यानाकर्षण गराइएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले झण्डै पाँच अर्ब रुपैयाँ लगानी गरेर खानेपानी आयोजना सम्पन्न गरिसक्दा पनि खानेपानी अभाव हुनु दुःखद र लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले बताए।
‘पोखरामा आगामी २० वर्षसम्म खानेपानीको अभाव नहुने गरी जाइकाले आयोजना निर्माण गरिदिएको भनिए पनि अहिले धारामा पानी नआउँदा व्यवसायी र सर्वसाधारण दुवै आक्रान्त बनेका छन्,’ पराजुलीले भने।
उनका अनुसार व्यवसायीहरूले दैनिक ट्यांकरमार्फत पानी खरिद गरेर होटल व्यवसाय सञ्चालन गर्न बाध्य भएका छन्।
‘दिनदिनै ट्यांकरबाट पानी किनेर व्यवसाय चलाउनुपरेको छ,’ होटल संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले भने, ‘पर्यटकीय राजधानी भनिने सहरमा कम्तीमा पर्याप्त खानेपानीको व्यवस्था त हुनुपर्यो।’
खानेपानी अभावको वास्तविक कारण बुझ्न आफूहरू संस्थान पुगेको अध्यक्ष सुवेदीले बताए। संस्थानका इञ्जिनियर लक्ष्मण पाण्डेका अनुसार ठूलो आयोजना सम्पन्न भए पनि मर्दीखोलाबाट पोखरासम्म पानी ल्याउने मुख्य पाइपको क्षमता पर्याप्त नभएकाले समस्या उत्पन्न भएको हो।

‘जाइकामार्फत ठूलो रकम खर्च गरेर आयोजना सम्पन्न गरिए पनि पर्याप्त पानी वितरण गर्न नसकिएको कुरा स्वयं संस्थानका इञ्जिनियरले स्वीकार गर्नुभयो,’ पराजुलीले भने, ‘उहाँले ठूलो क्षमताको पाइप जडानका लागि सरकारसँग पहल गरिदिन हामीलाई नै आग्रह गर्नुभयो।’
पराजुलीले समस्या समाधानका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए। उनका अनुसार मुख्य पाइप विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकार र महानगरपालिकाले प्राथमिकता दिनुपर्छ।
‘यस विषयमा मेयर र मुख्यमन्त्रीले विशेष पहल गर्न आवश्यक छ,’ उनले भने।
खानेपानी अभावका कारण विभिन्न धारामा पानी भर्न सर्वसाधारणको लामो लाइन लाग्ने गरेको पनि उनले बताए।
पोखरेलीलाई प्रशोधित खानेपानी उपलब्ध गराउने उद्देश्यले २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’ सम्पन्न भएपछि जाइकाले २०८१ मंसिरमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। यो आयोजनामा जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ।
आयोजनाअन्तर्गत दैनिक ४ करोड १० लाख लिटर पानी शुद्धीकरण गरी वितरण गर्ने लक्ष्य राखिएको थियो। तर पोखरामा दैनिक ८ करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको बताइएको छ।
पोखराको मुख्य खानेपानी स्रोत १२ किलोमिटर उत्तरमा रहेको मर्दीखोला हो। पुरुञ्चौरस्थित प्रशोधन केन्द्रमा शुद्धीकरण गरिएको पानी चारवटा २० इन्च क्षमताका पाइपमार्फत पोखरामा ल्याइन्छ।
आयोजनाअन्तर्गत २० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिएको भए पनि हाल पोखरा–५ पस्र्याङ र पोखरा–११ फूलबारीस्थित ट्यांकीबाट मात्र पानी वितरण हुँदै आएको छ। पोखरा–१५ कोलपाटनस्थित ट्यांकी भने प्राविधिक कारणले हालसम्म सञ्चालनमा आउन सकेको छैन।




