पोखरा । न्यू ग्यालेक्सी इङ्लिस सेकेन्डरी स्कुलमा नवप्रवेशी कक्षा ११ का विद्यार्थीहरूलाई विशेष कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरिएको छ।
शनिबार विद्यालयले एक कार्यक्रम आयोजना गरी कक्षा ११ का विद्यार्थी, शिक्षक तथा विद्यालयबाट एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो।
उक्त अवसरमा विद्यालयको तर्फबाट २०८२ सालको एसईईमा ४ जिपिए ल्याउने विद्यार्थी आर्यमान अधिकारी र आयुष कुमार दासलाई नगद १/१ लाख रुपैयाँ तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। यी दुई विद्यार्थी हाल न्यू ग्यालेक्सीमै कक्षा ११ को विज्ञान संकायतर्फ पूर्ण छात्रवृत्तिमा अध्ययन सुरु गरेको विद्यालयका निर्देशक राजु कायस्थले जानकारी दिए।
त्यसैगरी विद्यालयमा लामो समयसम्म सेवारत शिक्षकहरू राजेश भण्डारी, भरत भण्डारी, धनप्रसाद श्रेष्ठ, विष्णुप्रसाद अधिकारी, सरिता पोखरेल अधिकारी, रामचन्द्र शर्मा र भोजराज अधिकारीलाई सम्मान गरिएको थियो। उक्त अवसरमा चर्चित गायिका मिलन नेवारलाई पनि सम्मान गरिएको थियो। गायिका नेवारले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिलाएकी थिइन्।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई अबिर र खादा लगाई शुभकामना सन्देश प्रदान गर्दै विद्यालय परिवारमा स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराका निर्देशक सुवास पन्तले जीवनको स्थायी गोरेटो कोर्नका लागि पहिलो पाइला कक्षा ११ भएको बताउँदै विद्यार्थीलाई मेहनतका साथ आफ्नो अध्ययन अगाडि बढाउन आग्रह गरे।
कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै विद्यालयप्रति अपनत्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. रामजी शर्माले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययनमा अग्रसर हुन प्रेरित गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति तथा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक धनप्रसाद श्रेष्ठ, विद्यार्थी सुदिक्षा ठकुरी, सान्दी श्रेष्ठ, स्वकृति पौडेललगायतले बोलेका थिए।
कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा परिचयात्मक कार्यक्रम गरिएको थियो। कक्षा ११ मा यस वर्ष ३ सय विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ। विद्यालयमा कक्षा ११ र १२ तर्फ विज्ञान, कम्प्युटर, व्यवस्थापन, होटल व्यवस्थापन तथा पर्यटन विषयमा अध्ययन हुँदै आएको छ।




