newa srijana

पत्रकारितामा एआई प्रयोगबारे क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरा । पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोग त्यसले सञ्चार क्षेत्रमा पारेको प्रभाव र पत्रकारिताको व्यावसायिक सुदृढीकरणका विषयमा केन्द्रित दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकीको आर्थिक सहयोगमा आयोजित तालिममा एआईको प्रयोगसँगै पत्रकारितामा देखिएका अवसर, चुनौती र बदलिँदो सञ्चार परिवेशबारे छलफल गरिएको थियो ।

व्यावसायिक, जिम्मेवार र विश्वसनीय पत्रकारिताले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सहयोग पुग्ने गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले बताए । उनले पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम उपयोगी हुने धारणा व्यक्त गरे ।

तालिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्राविधिक इन्जिनियर मिलन श्रेष्ठले कृत्रिम बौद्धिकता, डिजिटल प्रणाली र एल्गोरिदमको प्रभावबारे प्रस्तुति दिए । पत्रकार केशवशरण लामिछानेले पत्रकारितामा एआईको प्रयोग यसका सम्भावना तथा चुनौतीका विषयमा सहजीकरण गरे ।

पत्रकारिताको विश्वसनीयता, व्यावसायिक मर्यादा र संस्थागत विकासलाई थप सुदृढ बनाउन आवश्यक रहेको नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले बताए ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका इन्चार्ज गणेश पौडेलले पत्रकारितामा एआईको प्रयोग, अवसर र चुनौतीबारे बुझाइ विकास गर्दै पत्रकारलाई समयअनुसार प्रविधिमैत्री बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए ।

World link net

पत्रकारितामा एआईको प्रयोगले अवसर र चुनौती दुवै सिर्जना गरेको भन्दै प्रविधिको सही प्रयोगमार्फत पत्रकारितालाई अझ विश्वसनीय र प्रभावकारी बनाउनुपर्ने प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्णबहादुर थापाले बताए ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश गिरीले पत्रकारितामा एआईको बढ्दो प्रयोगसँगै अहिलेको पुस्ता प्रविधिमैत्री बन्दै गएको र डिजिटल उपकरण तथा कृत्रिम बौद्धिकताप्रति बढी केन्द्रित भइरहेकाले पत्रकारहरूलाई समयअनुसार दक्ष र प्रविधिमैत्री बनाउन यस्ता तालिम महत्वपूर्ण हुने बताए ।

पत्रकारिता क्षेत्र अहिले डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै प्रविधिको सही प्रयोगमार्फत समाचार सम्प्रेषणलाई अझ प्रभावकारी बनाउनुपर्नेमा प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेलले बताए । उनले यथार्थपरक पत्रकारिता कमजोर हुँदै गएको सन्दर्भमा प्रविधिमैत्री र जिम्मेवार पत्रकारिता अपरिहार्य भएको बताए।

कार्यक्रमको स्वागत गर्दै उपाध्यक्ष रञ्जिता शर्माले पत्रकारितामा बदलिँदो प्रविधि विशेषगरी एआईको प्रभावलाई बुझ्दै पत्रकारहरूलाई समयअनुसार दक्ष र प्रविधिमैत्री बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिइन् । उनले यस्ता तालिमले पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उक्त तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ४० जना पत्रकार सहभागी भएका थिए । कार्यक्रम प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका महासचिव आश गुरुङले सञ्चालन गरेका थिए ।

सिटीजन फनिच्रर