पोखरा । होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ।
‘जाऔँ है पोखरा’ अभियानका क्रममा पाल्पा पुगेका खनाललाई आइतबार मस्तिष्कघात भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बुधबार उहाँको निधन भएको हो।

मस्तिष्कघात भएर ढलेपछि उहाँलाई प्रारम्भिक उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो। त्यहाँ थप उपचार सम्भव नभएपछि भैरहवा रेफर गरिएको थियो।
गोरखाको आरुघाट निवासी ४१ वर्षीय खनालका श्रीमती र एक छोरी छन्।
खनालको निधनप्रति दुःख व्यक्त गर्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले शोक विज्ञप्ति जारी गर्नुभएको छ। विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।




