पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न आमा समूहका अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका साधन तथा सेवाको पहुँच र प्रयोगबारे जानकारी गराइएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले महिला तथा किशोरकिशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अपरिहार्य रहेको बताउनुभयो। उहाँले सही जानकारी र सेवाको पहुँच विस्तारमार्फत स्वस्थ र जिम्मेवार समाज निर्माणमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल तथा कर्मचारी सुरज चौधरीले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले परिवार नियोजनका आधुनिक साधन, सुरक्षित मातृत्व तथा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाका विषयमा जानकारी दिनुभएको थियो।
नेपाल परिवार नियोजन संघ कास्कीले जिल्लाका विद्यालय तथा कलेजहरूमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अभियान सञ्चालन गर्दै आएको जनाएको छ।




