पोखरा । राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन गण्डकी प्रदेशको बक्सिङ टोली बुधबार काठमाडौं प्रस्थान गरेको छ। प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पोखरा महानगरपालिका–९ ले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
पोखरा रङ्गशालामा आयोजित बिदाइ कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्यानीले स्वर्ण पदक विजेतालाई जनही १५ हजार, रजत पदक विजेतालाई १० हजार तथा कास्य पदक विजेतालाई पाँच हजार रुपैयाँ प्रदान गरिने जानकारी दिनुभयो।

नेपाल बक्सिङ सङ्घको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहनेछ। प्रशिक्षक लोकबहादुर गुरुङको नेतृत्वमा रहेको गण्डकी टोलीमा राष्ट्रिय खेलाडी किरण बिकेसहित नौ खेलाडी सहभागी छन्।
बिदाइ कार्यक्रममा गण्डकी प्रदेश बक्सिङ सङ्घका अध्यक्ष विद्या मर्यानी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ तथा प्रदेश खेलकुद परिषद्का सदस्य इन्द्रा मल्लले खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।




