पोखरा । स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। स्थानीय तह सञ्चालन ऐनअनुसार पाँच नगरपालिका र छ गाउँपालिकाले असार १० गते बजेट सार्वजनिक गरेका हुन्।
जिल्लाका सबै स्थानीय तहले गरी कुल ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैयाँ बराबरको बजेट ल्याएका छन्।
पाँच नगरपालिकामध्ये पुतलीबजार नगरपालिकाले सबैभन्दा बढी ९६ करोड ७३ लाख १६ हजार ४०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कुल बजेटमध्ये ६६ करोड २० लाख ४७ हजार ६०० रुपैयाँ (करिब ६८ प्रतिशत) चालुतर्फ र ३० करोड ५२ लाख ६८ हजार ८०० रुपैयाँ (करिब ३२ प्रतिशत) पुँजीगततर्फ विनियोजन गरिएको छ।
वालिङ नगरपालिकाले ८९ करोड एक लाख ५९ हजार ७३६ रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै ४७ करोड ३० लाख सात हजार रुपैयाँ विनियोजन गरेको छ। सडक, पुल, भवन, खानेपानी तथा सिँचाइलगायत पूर्वाधार विकासका लागि २० करोड २२ लाख ७६ हजार रुपैयाँ छुट्याइएको छ।

गल्याङ नगरपालिकाले ८६ करोड ६३ लाख ५० हजार रुपैयाँ, चापाकोट नगरपालिकाले ६६ करोड ४८ लाख ७४ हजार ७२ रुपैयाँ तथा भीरकोट नगरपालिकाले ५७ करोड ३० लाख ९७ हजार ८८१ रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
छ गाउँपालिकामध्ये आँधीखोला गाउँपालिकाले सबैभन्दा बढी ६१ करोड ६२ लाख रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै कुल बजेटको करिब ७० प्रतिशत चालुतर्फ र ३० प्रतिशत पुँजीगततर्फ विनियोजन गरेको जनाएको छ।
कालीगण्डकी गाउँपालिकाले ५६ करोड ८१ लाख ८१ हजार रुपैयाँ, बिरुवा गाउँपालिकाले ५१ करोड ६२ लाख ६८ हजार ३८४ रुपैयाँ, अर्जुनचौपारी गाउँपालिकाले ४७ करोड ९४ लाख २४ हजार रुपैयाँ, हरिनास गाउँपालिकाले ४४ करोड २४ लाख रुपैयाँ तथा फेदीखोला गाउँपालिकाले ४० करोड १६ हजार ४०० रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
स्थानीय तहहरूले सडक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिएको बताएका छन्।




