newa srijana

खैजडीको तालमा बदलिएको जीवन

पोखरा। सामाजिक सञ्जाललाई माध्यम बनाउँदै खैजडीको तालमा समसामयिक विषयलाई भजनको शैलीमा प्रस्तुत गर्ने कलाकारका रूपमा शिव शर्मा लामिछाने पछिल्लो समय चर्चामा आएका छन्। समाजका घटना, राजनीतिक व्यङ्ग्य तथा जनजीवनका यथार्थलाई समेटेर प्रस्तुत गरिने उनका भजनहरूले उनलाई फरक पहिचान दिलाएको छ।

वि.सं. २०५३ साल वैशाख ५ गते स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–४, भाडखोला करम्दीमा जन्मिएका लामिछानेको बाल्यकाल नौडाँडा–कुनौटा क्षेत्रमा बितेको हो।

सानैदेखि गीत–संगीत तथा हास्यव्यङ्ग्यप्रति रुचि राख्ने उनी विद्यालयका सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन्थे। कक्षा ३ मा गाएको गीतमार्फत विद्यालयस्तरको प्रतियोगितामा प्रथम भएपछि उनको संगीतप्रतिको लगाव थप मजबुत बनेको थियो।

उनको प्रतिभाबाट प्रभावित भई विभिन्न शैक्षिक संस्थाहरूले उनलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरेका थिए। स्वाभिमान बोर्डिङ, स्याङ्जा उच्च माध्यमिक विद्यालय तथा सिसु निकेतन बोर्डिङलगायत विद्यालयमा उनले अध्ययन गरेका थिए।

अध्ययनसँगै उनी कलाकारिता र क्यारिकेचरमा पनि सक्रिय थिए। चर्चित कलाकारहरूको स्वर, शैली र हाउभाउ नक्कल गर्ने क्षमताका कारण उनी स्थानीय कार्यक्रमहरूमा आकर्षणको केन्द्र बनेका थिए।

एसएलसीपछि उनले संगीत क्षेत्रमै भविष्य बनाउने उद्देश्यसहित स्टेज कार्यक्रमहरूमा सक्रियता बढाएका थिए। सो क्रममा उनी “स्याङ्जाली धुर्मुस” नामबाट पनि परिचित भएका थिए। तर अपेक्षित आर्थिक स्थिरता नआएपछि उनी वैदेशिक रोजगारीका लागि दुबई गएका थिए।

दुबईमा रहँदा पनि उनले संगीतप्रतिको रुचि निरन्तर कायम राखेका थिए। कामको व्यस्तताबीच पनि गीत सुन्ने र गुनगुनाउने बानीले उनको सांगीतिक लगावलाई जोगाइराखेको थियो।

सिटीजन फनिच्रर

केही वर्षमा नेपाल फर्किएपछि उनले पुनः संगीत क्षेत्रमा सक्रिय हुने प्रयास गरेका थिए। सोही क्रममा स्वस्थानी व्रतको समयमा हातमा खैजडी लिएर भजन गाउन थालेपछि उनको सांगीतिक यात्राले नयाँ मोड लिएको हो।

सुरुमा परम्परागत भजन गाएका उनले पछि समसामयिक सामाजिक, राजनीतिक तथा जनजीवनका विषयलाई भजनको शैलीमा प्रस्तुत गर्न थाले। यही शैली सामाजिक सञ्जालमा लोकप्रिय बन्दै फेसबुक र टिकटकमार्फत उनका भिडियोहरू भाइरल बने।

त्यसपछि उनी राष्ट्रिय रूपमा चर्चित भजन कलाकारका रूपमा स्थापित भएका छन्। उनका भजनहरू केवल धार्मिक भावनामा सीमित नभई सामाजिक यथार्थ, व्यङ्ग्य र जनजीवनका विविध पक्षलाई समेट्ने भएकाले फरक पहिचान बनेको छ।

उनको पहिलो चर्चित एल्बम ‘प्रभु तिम्रै शरण’ पछि ‘म पनि तिम्रै भक्त हुँ’, ‘देवता एक नाम अनेक’, ‘बाहुनले राँगो खाए’, ‘झुटै रहेछ संसार’, ‘के हो प्रभु यो चाल’ लगायतका गीत सार्वजनिक भएका छन्। हालसम्म उनले १२० भन्दा बढी स्टुडियो तथा लाइभ गीत प्रस्तुत गरिसकेका छन्।

अवहेलना र आलोचनाबीच सुरु भएको उनको यात्रा हाल लोकप्रियतामा परिणत भएको छ। प्रारम्भमा खैजडी बोकेर हिँड्दा आलोचना गर्नेहरू नै पछि उनका प्रशंसक बनेका छन्।

हाल उनी श्रीमती र एक छोरासहित पारिवारिक जीवन बिताइरहेका छन्। ठूलो आर्थिक सम्पत्ति नभए पनि दर्शक श्रोताको माया नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको उनी बताउँछन्।

“मैले कलाकारिता रोजेर पछुतो छैन,” उनले भने, “आफूले मन परेको काम गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।”

खैजडीको तालसँग सुरु भएको उनको यात्रा आज सामाजिक सञ्जालदेखि स्टेजसम्म फैलिएको छ। उनको सांगीतिक यात्रा निरन्तर जारी छ।

Press register 3