newa srijana

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलमा रु. २०, डिजेलमा रु. ३० र ग्यासमा रु. १०० ले कमी

पोखरा । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगम लिमिटेडले नयाँ खरिद मूल्यका आधारमा पेट्रोल, डिजेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य समायोजन गरेको हो।

निगमका अनुसार नयाँ मूल्य २०८३ असार १७ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावट तथा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य घटेकाले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

सिटीजन फनिच्रर

नयाँ निर्णयअनुसार पेट्रोलमा प्रति लिटर रु. २०, डिजेल तथा मट्टितेलमा प्रति लिटर रु. ३० र आन्तरिक हवाई इन्धनमा प्रति लिटर रु. ४० ले मूल्य घटाइएको छ। एलपी ग्यासमा प्रति सिलिन्डर रु. १०० ले कमी गरिएको छ।

हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरिएको छ। काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ भने पोखरा र भैरहवामा ब्रेक–इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

डिपो तथा कार्यालयबाट १५ किलोमिटर भित्रका क्षेत्रमा लागू हुने पेट्रोलियम पदार्थको खुद्रा मूल्य पनि पुनः निर्धारण गरिएको छ। नयाँ दरअनुसार पेट्रोल प्रति लिटर रु. १९४.५० देखि रु. १९७ सम्म र डिजेल तथा मट्टितेल प्रति लिटर रु. १९२.५० देखि रु. १९५ सम्म कायम गरिएको छ।

निगमले स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा मूल्य समायोजन गर्दै आएको जनाएको छ।

Pokhara learners