पोखरा । रोजगारीको खोजीमा रहेका युवायुवतीलाई निजी क्षेत्रका रोजगारदातासँग प्रत्यक्ष जोड्ने उद्देश्यले पोखरामा आयोजित ‘पोखरा जब फेयर २०२६’ मा करिब पाँच हजार जनाको सहभागिता भएको छ। मेलामार्फत सयौँ युवाले रोजगारी सुनिश्चित गरेको आयोजकले जनाएको छ।
पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्स प्रालिको आयोजनामा शुक्रबार पोखरा–६, बुलौंदीस्थित इभेन्ट सेन्टरमा सम्पन्न मेलामा विभिन्न क्षेत्रका ५१ वटा कम्पनी तथा संस्थाले स्टल राखेर आवश्यक जनशक्तिको खोजी गरेका थिए। मेलामा सहभागी युवाले रोजगारदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्नो योग्यता र अनुभवअनुसारका रोजगारीबारे जानकारी लिएका थिए भने धेरैले व्यक्तिगत विवरण (सीभी) समेत बुझाएका थिए।
पोखरा महानगरपालिकाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार मेलाअघि नै अनलाइनमार्फत आवेदनसमेत खुला गरिएको थियो। त्यसक्रममा करिब एक हजार आठ सय जनाले आवेदन दिएका थिए। मेलामा प्रत्यक्ष सहभागीको संख्या करिब पाँच हजार पुगेको र अन्तिम रूपमा कति जनाले रोजगारी प्राप्त गरे भन्ने विवरण केही दिनभित्र सार्वजनिक गरिने उनले जानकारी दिए।
मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले उद्यमशीलता विकास, रोजगारी सिर्जना र स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। नगरवासीलाई सीपयुक्त बनाउँदै रोजगारीसँग जोड्ने तथा आवश्यक परे बीउपूँजी उपलब्ध गराउने नीति लिइएको उल्लेख गर्दै उनले महानगरभित्र उपलब्ध अवसरप्रति अपेक्षाअनुसार आकर्षण भने बढ्न नसकेको धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले युवाले केवल जागिर खोज्ने मानसिकतामा सीमित नभई उद्यमशीलतातर्फ पनि अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए।

प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई स्वदेशमै रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए। रेमिट्यान्सका भरमा मात्र देश समृद्ध हुन नसक्ने उल्लेख गर्दै उनले उत्पादन, उद्योग र व्यवसाय विस्तारमार्फत युवालाई देशमै भविष्य देखाउनुपर्नेमा जोड दिए।
उनले जागिर खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन अहिलेको आवश्यकता भएको बताए। विश्वविद्यालयहरूले प्रमाणपत्र बोकेर जागिरको खोजीमा हिँड्ने मात्र होइन, उद्योग–व्यवसाय सञ्चालन गर्ने क्षमता, सोच र आत्मविश्वास भएका जनशक्ति उत्पादन गर्नुपर्ने धारणा उनको थियो। नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले पनि सिर्जनशील तथा उद्यमशील जनशक्ति उत्पादनका पक्षमा निरन्तर काम गरिरहेको उनले बताए।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले सञ्चालन गरेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधराज कार्की, वडा नं. १७ की अध्यक्ष राधिका शाही ठकुरी, महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, संघका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला, ग्रोथ नेपाल प्रालिका संस्थापक मोहन ओझा तथा नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए।
रोजगार खोज्ने र रोजगारदाता दुवै पक्षलाई एउटै स्थानमा ल्याएर आवश्यक जनशक्तिको मिलान गराउने उद्देश्यले मेला आयोजना गरिएको संघका उद्योग उपाध्यक्ष तथा मेला संयोजक दिनेशचन्द्र बास्तोलाले बताए।
मेलामा लक्ष्मी समूह, भाटभटेनी सुपरमार्केट, गोर्खा ब्रुअरी, सोल्टी वेस्ट पोखरा, अन्नपूर्ण केबलकार, सेल्सबेरी, एनपीएल, ब्ल्याकटेक प्रालि, आइएमई खल्ती लिमिटेड, वर्ल्डलिङ्क कम्युनिकेसन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेड, रमेश कर्प प्रालि, नेपाल मणिपाल टिचिङ अस्पताल प्रालि, थियोगो क्लिन इनर्जी प्रालि, सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स, मुक्तिनाथ विकास बैंक, होटल बाराही, आइएमई अटोमोबाइल्स, धरोहर कन्सल्ट्यान्स एन्ड कन्सल्टिङ प्रालि, सिटिजन लाइफ इन्स्योरेन्स, अटोवेज प्रालि, पोखरा नुडल्स प्रालि, फुडमाण्डु प्रालि, रुपाकोट रिसोर्ट प्रालि, क्युएफएक्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मोअ राइड्स प्रालि, इसेवा, टेम्पलबेल बुटिक होटल, ट्रान्क्विलिटी स्पा, टेम्पल ट्री होटल एन्ड स्पा, बेटर एप्लायन्सेस, सिद्धार्थ इन्स्योरेन्स प्रालि, पोखरा इन्टरनेट तथा अर्मला केबल, डिस होम, नेपाल क्यान ग्रुप, सन्ध्या जब्स, बन्दीपुर केबलकार, मारुती सिमेन्ट, युनाइटेड डिष्ट्रिब्युटर्स, नासा सेक्युरिटिज तथा म्याजेस्टिक लेकफ्रन्ट होटललगायतका कम्पनी तथा संस्थाको सहभागिता रहेको थियो।




