newa srijana

नेपाली कफीको प्रवर्द्धनमा पोखरामा राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिप

ललितपुर जिल्ला कफी सहकारी संघ प्रथम

पोखरा । नेपाली कफीको उत्पादन, गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ (स्वाद परीक्षण) च्याम्पियनसिप आयोजना गरिएको छ। ‘चिनौं, चाखौं, अपनाऔं, प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय, पोखरा–५ डुम्रिबोटमा शनिबार कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य आकर्षण रहेको राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपमा जिल्ला कफी सहकारी संघ लिमिटेड, ललितपुर ८६.२५ अंकसहित प्रथम भएको छ। ८६ अंक प्राप्त गर्दै काभ्रेको महाभारत साना किसान कृषि सहकारी संस्था दोस्रो स्थानमा रह्यो।

गोरखाको कोटथोक कफी उत्पादक कृषक समूह, काभ्रेको महादेवटार धोग कृषि फर्म तथा गुल्मी कफी स्टेट प्रालिले समान ८४.७५ अंक प्राप्त गर्दै संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्। विजेताहरूलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए।

सोही अवसरमा नेपालका पालिकामध्ये सबैभन्दा बढी कफी उत्पादन गर्ने काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो।

प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कफीको विशिष्ट स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सके मुलुकको अर्थतन्त्र सुदृढ हुनुका साथै रोजगारीका नयाँ अवसरसमेत सिर्जना हुने बताए। नेपालका ४३ जिल्लामा कफी खेती विस्तार भइसकेको र ३० हजारभन्दा बढी कृषक यस व्यवसायमा आबद्ध रहेको उल्लेख गर्दै उनले अब उत्पादनलाई व्यवस्थित बनाउँदै निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री पाण्डेका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर पाँच हजार ५ सय १ हेक्टर क्षेत्रफलबाट ६ सय ४२ मेट्रिक टन ग्रिन बिन उत्पादन भएको छ। त्यसमध्ये ६४ मेट्रिक टन कफी निर्यात गरिएको उनले जानकारी दिए। गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवैमा अग्रणी रहेको उल्लेख गर्दै उनले गत वर्ष प्रदेशमा एक सय ५६ मेट्रिक टन कफी उत्पादन भएको बताए।

सिटीजन फनिच्रर

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम कार्कीले प्रदेशलाई ‘कफी हब’का रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिए। बाँझो जमिनको उपयोग गर्दै युवालाई कृषितर्फ आकर्षित गर्ने नीति प्रदेश सरकारले लिएको उल्लेख गर्दै उनले सहर तथा विदेशबाट फर्केर कृषि क्षेत्रमा लगानी गर्ने युवालाई ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत ब्याज अनुदान उपलब्ध गराइने घोषणा गरे।

कफी खेती विस्तारका लागि कृषकलाई प्रतिबिरुवा ५० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। हालसम्म १० हजार बिरुवा रोपिएको जानकारी दिँदै उनले बाँदरको समस्या भएका तथा बाँझो जमिन रहेका क्षेत्रमा कफी खेती प्रभावकारी विकल्प बन्न सक्ने उल्लेख गरे। महानगरले बरिस्टालगायत सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए।

आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पोखरामा वार्षिक करिब १५ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ भने यहाँ एक हजार पाँच सयभन्दा बढी कफी क्याफे सञ्चालनमा छन्।

कफी किसान, सहकारी संस्था, प्रशोधनकर्ता, क्याफे सञ्चालक, व्यवसायी, उपभोक्ता तथा कफीप्रेमीहरूको उल्लेखनीय सहभागिताले मेलालाई सफल बनाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक सुरेन्द्र सुवेदीले बताए। नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको विश्वास थियो।

नेपालमा कफी खेतीको इतिहास करिब ८८ वर्ष पुरानो मानिन्छ। वि.सं. १९९५ मा सन्त हीरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपेपछि नेपालमा कफी खेती सुरु भएको इतिहास छ। पछिल्ला वर्षहरूमा कफी नेपाली किसानका लागि आशाको बालीका रूपमा स्थापित हुँदै गएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कफी नर्सरी अवलोकन, निःशुल्क कपिङ (स्वाद परीक्षण), कफी उपकरण प्रदर्शनी तथा प्राविधिक परामर्शसमेत उपलब्ध गराइएको थियो। यस्ता गतिविधिले पोखरालाई नेपाली ‘स्पेसियालिटी कफी’को केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने आयोजकको विश्वास छ।

 

Pokhara learners