newa srijana

लोकभजन चुड्का सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको प्रतीक : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकभजन चुड्का नेपाली समाजको आध्यात्मिक चेतना, नैतिक मूल्य र सामाजिक सद्भावको महत्वपूर्ण आधार भएको बताएका छन्। नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले हिमाल, पहाड र तराईका विभिन्न समुदायले सिर्जना गरेका कला–संस्कृतिले नेपालको राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताए। नेपालको पहिचान नै सांस्कृतिक विविधतामा आधारित रहेको उल्लेख गर्दै उनले भजन चुड्कामा रहेको ऊर्जा, अनुशासन र आध्यात्मिक भाव अन्य धेरै संगीत परम्पराभन्दा विशिष्ट रहेको धारणा राखे।

उनका अनुसार भजन चुड्का केवल ईश्वरको आराधनामा सीमित छैन, यसले सत्य, करुणा, नैतिकता र सहिष्णुताको सन्देश पनि प्रवाह गर्छ। पुस्तौंदेखि निरन्तर चल्दै आएको यो परम्पराले नेपाली समाजलाई एकतामा बाँध्दै आएको उनको भनाइ थियो।

सिटीजन फनिच्रर

गण्डकी प्रदेशलाई लोकसंस्कृति र भजन परम्पराको उद्गमस्थलका रूपमा उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यहाँको माटोमा खैंजडीको ताल, मुजुराको झंकार र लोकभजनको सुगन्ध मिसिएको बताए।

आधुनिक प्रविधिको विस्तार र बदलिँदो जीवनशैलीका कारण परम्परागत कला–संस्कृति चुनौतीमा परेको उल्लेख गर्दै उनले यस्ता मौलिक सम्पदाको संरक्षणलाई सबैले साझा दायित्वका रूपमा लिनुपर्ने बताए। संरक्षण भनेको विगतको सम्झनालाई मात्र जोगाउनु नभई भावी पुस्तालाई आफ्नै सभ्यता र संस्कृतिसँग जोड्ने जिम्मेवारीसमेत भएको उनको भनाइ थियो। पश्चिमी संस्कृतिको बढ्दो प्रभावका बीच रैथाने कला र संस्कृतिको संरक्षण अहिलेको प्रमुख चुनौती बनेको उनले बताए।

भजन चुड्कालाई नयाँ पुस्तामाझ परिचित गराउन राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यस अभियानलाई अझ प्रभावकारी बनाउन आग्रह गरे। सोही अवसरमा प्रदेश प्रमुख भट्टले भजन चुड्का प्रस्तुत गर्ने सात र १२ वर्ष उमेरका दुई बालकलाई नगद पुरस्कार प्रदान गरी प्रोत्साहन गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानको नयाँ नेतृत्व चयन तथा आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो।

Pokhara learners