पोखरा । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका पोखरा महानगरपालिका–२६ निवासी कृष्ण थापा साहसी युवा प्रोत्साहन सम्मानबाट सम्मानित भएका छन्। पोखरा महानगरपालिका वडा नं. २६ ले शनिबार आयोजना गरेको योजना अनुगमनपछिको समीक्षा कार्यक्रममा उनलाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको हो।
पोखरा–२६ निवासी सगरमाथा आरोही तथा वडा रत्न स्वर्गीय विनोदबाबु बस्ताकोटीको स्मृतिमा स्थापना गरिएको ‘साहसी युवा प्रोत्साहन सम्मान’ यस वर्ष थापालाई प्रदान गरिएको हो।
सम्मान प्रदान गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले शारीरिक अपाङ्गता भए पनि कृष्ण थापाले अधिकारका सवालमा देखाएको सक्रियता, चेतना र नेतृत्व प्रशंसनीय रहेको बताए। उनले यस्ता व्यक्तित्वलाई सम्मान गर्न पाउनु वडा कार्यालयका लागि गौरवको विषय भएको उल्लेख गरे।
पत्रिका बिक्री गरेर जीविकोपार्जन गर्दै आएका कृष्ण थापाले सार्वजनिक यातायात प्रयोगका क्रममा आफूले भोग्नुपरेका कठिनाइलाई कानुनी मुद्दाको विषय बनाउँदै अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न आवाज उठाएका थिए।
सोही कार्यक्रममा आयोजित योजना अनुगमन तथा नागरिक समीक्षा कार्यक्रममा वडा अध्यक्ष थापाले आफ्नो कार्यकालमा झण्डै एक अर्ब रुपैयाँ बराबरका योजना कार्यान्वयन भएको जानकारी दिए। जनचाहनाअनुसार काम गर्ने प्रयास गरेको उल्लेख गर्दै उनले जनताले पुनः जिम्मेवारी दिए इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफ्नो कार्यकालका राम्रा र नराम्रा सबै कामको जिम्मेवारी आफूले लिने बताउँदै उनले वडा नं. २६ का नागरिकको शिर झुक्ने गरी कुनै पनि गलत काम नगरेको दाबी गरे।
कार्यक्रममा वडा सदस्यहरू लक्ष्मीदेवी भट्टराई, सुजता बराल, तिर्थबहादुर राजभाट र सुदीपराज ढुंगानाले योजना अनुगमनपछि भएका कामको वस्तुगत मूल्याङ्कन गर्न सहभागीहरूसँग आग्रह गरेका थिए।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले पछिल्ला चार वर्षमा वडा नं. २६ ले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।
वडाका सूचना अधिकारी नवराज सापकोटाले चालु आर्थिक वर्षको असार २० गतेसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन वडा सचिव लीलामणि भण्डारीले गरेका थिए।
कार्यक्रमअन्तर्गत पोखरा–२६ का विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब दुई सय जनाले वडाभित्र सञ्चालित विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरेका थिए। चालु आर्थिक वर्षमा वडा नं. २६ मा झण्डै २० करोड रुपैयाँ बराबरका योजना कार्यान्वयन भएको जनाइएको छ।




