पोखरा । लोकभजन तथा चुड्का संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदरस्वरूप पत्रकार इन्द्रप्रसाद पौडेललाई ‘संस्कृति संरक्षण पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको छ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनका अवसरमा शनिबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पौडेललाई सम्मानपत्रसहित उक्त सम्मान प्रदान गरेका हुन्।

करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन्। उनले २०६० देखि २०६४ सालसम्म समाधान राष्ट्रिय दैनिक र हटलाइन दैनिकमा फोटो पत्रकार तथा संवाददाताका रूपमा काम गरेका थिए। २०८० सालदेखि उनी मैदान न्युज डटकम सञ्चालन गर्दै आएका छन्।
पत्रकारितासँगै पौडेल विभिन्न पेशागत तथा सामाजिक संस्थामा पनि सक्रिय छन्। उनी हाल प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष हुन्। यसअघि नेपाल पत्रकार महासंघका केन्द्रीय सभा सदस्य, गण्डकी प्रदेश समितिका संस्थापक सचिव, कास्की शाखाका कार्यसमिति सदस्य तथा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कास्की शाखाका अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनी सृजना विकास केन्द्र पोखराका पूर्वअध्यक्ष हुन्। समाज सेवा युवा परिवार अन्नपूर्ण गाउँपालिका कास्कीका संस्थापक अध्यक्षसमेत रहेका उनी जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य पनि हुन्।




