newa srijana

पदयात्रा पर्यटनका समस्या समाधान गर्न टान गण्डकीको आग्रह

टिम्स प्रणाली प्रभावकारी बनाउन तथा अवैधानिक पदयात्रा रोक्न आग्रह

पोखरा । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका नीतिगत, संरचनागत तथा व्यवस्थापकीय समस्या समाधान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलसमक्ष आठबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बुझाउनुभएको ध्यानाकर्षणपत्रमा पर्यटन विधेयक–२०८२ मा पदयात्रा पर्यटनलाई पर्याप्त प्राथमिकता दिन, धौलागिरी क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न, प्रमुख पदमार्गहरूको संरक्षण तथा फेक रेस्क्यु नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न आग्रह गरिएको छ।

ध्यानाकर्षणपत्रमा अन्नपूर्ण तथा गण्डकी क्षेत्रका पदमार्गहरू सडक विस्तार र जलविद्युत् आयोजनाका कारण प्रभावित भएको उल्लेख गर्दै पर्यटन प्रभाव मूल्याङ्कन अनिवार्य गरी पदमार्ग संरक्षण गर्न माग गरिएको छ। हिमाली क्षेत्रमा अनियन्त्रित पूर्वाधार निर्माणले पदयात्रा पर्यटनसँगै जैविक विविधतामा समेत असर पुगेको उल्लेख गरिएको छ।

सिटीजन फनिच्रर

टानले पदयात्री सूचना व्यवस्थापन प्रणाली (TIMS) लाई पूर्ण रूपमा कार्यान्वयन गर्न, सबै चेकपोस्ट सञ्चालनमा ल्याउन तथा इजाजतप्राप्त ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रा सञ्चालन हुने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारसँग आग्रह गरेको छ। यसो हुँदा पर्यटकको सुरक्षा सुनिश्चित हुनुका साथै राज्यको राजस्वसमेत वृद्धि हुने टानको विश्वास छ।

नेपाल पर्यटन बोर्डलाई यसको मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा केन्द्रित गराउन संस्थागत सुधार आवश्यक रहेको उल्लेख गर्दै ढोरपाटन, सिक्लेस–मर्दी हिमाल, जलजला–हिडेन लेक, पञ्चासे तथा अन्य नयाँ पदयात्रा गन्तव्यको विकास र प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

यसैगरी सगरमाथा र मनास्लु क्षेत्रमा स्थानीय तहबाट लिइँदै आएको अतिरिक्त शुल्क पुनरावलोकन गर्न, पर्यटन व्यवसायसम्बन्धी प्रशासनिक प्रक्रियामा एकद्वार प्रणाली लागू गर्न तथा दिगो पर्यटन, डिजिटल प्रवर्द्धन, आरोग्य पर्यटन र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत टानले दिएको छ।

टान गण्डकीले यी विषयमा समयमै आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन भए नेपालको पदयात्रा पर्यटन सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय रूपमा थप प्रतिस्पर्धी बन्ने विश्वास व्यक्त गरेको छ।

Pokhara learners