पोखरा । पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको ट्राफिक समस्या समाधानका निम्ति ‘सुझाव संकलन एवं कार्यान्वयन समिति’ गठन हुने भएको छ।
पोखरा उद्योग वाणिज्य संघले मङ्गलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा आयोजना गरेको छलफल कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका निम्ति समिति गठन गर्ने निर्णय भएको हो।
महेन्द्रपुल क्षेत्रका व्यवसायी सहभागी छलफल कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले नागरिकको जीवन रक्षा र सहज पार्किङ आफ्नो सरोकार भएको बताउँदै यस विषयमा सहकार्यको प्रस्ताव गरेसँगै समिति गठनमा सहमति जुटेको हो।
यसअघि पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले फुटपाथ पैदलयात्रीकै भएकोमा पोखरा उद्योग वाणिज्य संघ स्पष्ट रहेको बताउँदै सडकमा गरिने पार्किङका कारण सवारी आवागमन र ट्राफिक व्यवस्थापन बिग्रन नहुनेमा जोड दिए।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा फुटपाथमा हुने अनधिकृत व्यवसाय हटाइएको, पार्किङमा देखिएका समस्या समाधानको पहल भएको स्मरण गर्दै उनले भने, “हामी व्यवसायीलाई मर्का नपरोस् भन्ने चाहन्छौँ। मान्छे आएपछि पार्किङ चाहिन्छ र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने मूल प्रश्न हो। यसमा स्थानीयको साथ र सहयोग हुनुपर्छ।”
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न खोज्दा व्यवसायीबाट सहयोग नभएको र उल्टै ‘मुर्दावाद’को नारा लागेको बताए। उनले भने, “अहिले महिलाहरूले एउटा स्कुटर निकाल्न १ सय रुपैयाँ दिएको, पार्किङमा मोटरसाइकल राख्नेहरूबीच हानाहान भएको यहाँहरूले देख्नुभएकै होला। ट्राफिक व्यवस्थापनका लागि कि महानगर र प्रहरीलाई सघाउनुपर्यो, होइन भने स्थानीयले नै व्यवस्थापन गर्नुपर्यो नि।”

उनले महेन्द्रपुल क्षेत्रमा रहेको सार्वजनिक शौचालयमा जान चाहने तथा झण्डा पार्कमा आउने पर्यटकका सवारी पार्किङ व्यवस्थापनमा सहयोग गर्न पनि व्यवसायीसँग आग्रह गरे।
पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद तथा महासचिव शोभा गौतमको सञ्चालन रहेको कार्यक्रममा स्थानीय व्यवसायी रोशन महर्जनले व्यवसाय पनि चल्ने र अरूलाई पनि बाधा नहुने गरी पार्किङको व्यवस्थापन हुनुपर्ने धारणा राखे।
महेन्द्रपुलका स्थानीयवासी सुमन श्रेष्ठले महेन्द्रपुल क्षेत्रमा दिनहुँ दुर्घटना हुने गरेको र त्यहाँ रहेको हाइमास्ट बत्ती नबल्दा दोषीको पहिचान गर्न पनि गाह्रो भएको बताए।
कार्यक्रममा बोल्ने व्यवसायीहरूले भाडाका ट्याक्सीहरूले मुख्य बजार क्षेत्रको सडक नै कब्जा गरी पार्किङ गर्ने गरेको, फुटपाथको चौडाइ कति भन्ने स्पष्ट नभएको लगायतका गुनासा राखे।
ती गुनासा सुनेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख देवकोटाले महेन्द्रपुल र मुख्य बजार क्षेत्रमा व्यवसाय गर्नेहरूले आफ्ना गाडी र कर्मचारीका मोटरसाइकल दिनभरि पसलअगाडि राख्दा पनि समस्या भएको बताए।
पोखरा नगर क्षेत्रमा सिसी क्यामेरा नहुँदा ‘हिट एन्ड रन’का अपराधी समात्न कठिन भएको पनि उनको भनाइ थियो। सिङ्गो कास्कीका लागि जम्मा ९२ जना ट्राफिक प्रहरी रहेको बताउँदै उनले जनशक्ति अभावले सबै क्षेत्रमा ध्यान दिन नसकेको पनि स्वीकारे।
उनले मादक पदार्थ सेवन गरी सवारी नचलाउन पनि अनुरोध गरे। “हामीले नखानुस् भनेको होइन, तर खाएपछि सवारी नचलाउनु भनेको हो। नेपालमा कति मात्रामा मदिरा खायो भन्ने नाप्ने प्रावधान छैन। आफ्नो ज्यान जोखिममा किन पार्नुहुन्छ ? भोलि अङ्गभङ्ग हुँदा के हुन्छ भन्ने पहिल्यै सोच्नुहोस् भन्ने हो। हामीले गर्ने चेकिङ यहाँहरूकै सुरक्षाका निम्ति हो,” प्रहरी निरीक्षक देवकोटाले भने।




