पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर पुरस्कृत हुने भएकी छन्।
फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीस मगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यस वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो।
समितिका सदस्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आले मगर, नेपाल मगर पत्रकार सङ्घ कास्कीका अध्यक्ष सुरज थापा मगर तथा सङ्घका सचिव बलबहादुर रोका मगर रहेका थिए।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार सङ्घ कास्कीले प्रदान गर्दै आएको छ। पोखरामा पत्रकारिताका क्षेत्रमा रहेर कौराहासहित मगर समुदायको संस्कार र संस्कृतिका विषयमा लामो समयदेखि कलम चलाउँदै आएकी थापालाई यस वर्ष उनको योगदानका आधारमा सम्मान गर्न लागिएको छनोट समितिका संयोजक श्रीसले बताए। संयोजक श्रीसका अनुसार पत्रकार थापालाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनको प्रमुख आतिथ्यतामा असार २६ गते शुक्रबार पोखराको अमरसिंहचोकस्थित पोखरा सेकुवा घरमा आयोजना हुने कार्यक्रममा पत्रकार थापालाई सम्मान गरिने संयोजक श्रीसले जानकारी दिए।
यस पुरस्कारबाट यसअघि कमला राना मगर, तिलक पुन मगर, प्रताप राना मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीस मगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन्।




