पोखरा । स्याङ्जाको पहिचान बन्दै आएको सुन्तलाले अब नयाँ रूप पाएको छ। फलका रूपमा मात्र सीमित नरही सुन्तलाको बोक्रा प्रशोधन गरी जिल्लामै पहिलोपटक फेस प्याक र आयुर्वेदिक साबुन उत्पादन सुरु गरिएको छ।
स्थानीय स्रोत तथा उत्पादनको मूल्यवर्द्धन गर्ने उद्देश्यले सुन्तलाको बोक्रा र स्थानीय जडीबुटीलाई उद्यम, रोजगारी तथा स्थानीय ब्रान्डमा रूपान्तरण गरिएको हो। विगतदेखि खेर गइरहेको सुन्तलाको बोक्रा तथा स्थानीय जडीबुटीको बहुउपयोग गर्दै पुतलीबजार नगरपालिका–३ बाड्खोलास्थित अन्जु कस्मेटिक एण्ड ब्युटी होमले फेस प्याक र आयुर्वेदिक साबुन उत्पादन थालेको छ। उत्पादित सामग्रीको बजारीकरणसमेत सुरु गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाको सहयोगमा सञ्चालित ‘युवा उद्यमशीलता’ कार्यक्रमअन्तर्गत फेस प्याक र साबुन उत्पादनसँगै बिक्री वितरण सुरु गरिएको हो। सुन्तलाको बोक्राबाट तयार गरिएको फेस प्याक तथा सुन्तला, तितेपाती र निमपातको प्रयोगबाट बनाइएको आयुर्वेदिक साबुन औपचारिक रूपमा बजारमा ल्याइएको छ।


जिल्लामा सुन्तला, तितेपाती र निमजस्ता कच्चा पदार्थ प्रशस्त उपलब्ध भएकाले प्राकृतिक स्रोतमा आधारित स्वास्थ्यमैत्री उत्पादनको प्रयोग बढाउन उत्पादकले आग्रह गरेका छन्। स्थानीय तीन महिलाको अगुवाइमा सुरु गरिएको यस अभियानमा सबैको साथ र सहयोग रहे राम्रो सम्भावना रहेको उनीहरूको बुझाइ छ। अन्जु कस्मेटिक एण्ड ब्युटी होमकी सञ्चालिका अन्जु शर्मा रेग्मीले स्थानीय उत्पादनलाई नयाँ पहिचान दिने उद्देश्यले उद्योग स्थापना गरिएको बताइन्।
उत्पादनसँगै बजारीकरणलाई पनि समान रूपमा प्राथमिकता दिइएको उनीहरूले बताए। स्थानीय स्रोत, सीप र आयुर्वेदिक ज्ञानको उपयोग गर्दै गुणस्तरीय सामग्री उत्पादन गरिएको दाबी गर्दै उनीहरूले सुन्तला उत्पादक कृषक, बेरोजगार महिला तथा युवालाई वनजंगलमा खेर गइरहेका जडीबुटीको उपयोगमार्फत उद्यमसँग जोड्ने विश्वास लिएको जनाए।
स्थानीय उत्पादनको उचित उपयोग र स्वदेशी ब्रान्डप्रतिको विश्वास बढ्दै गए ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र बलियो बन्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा सुन्तलाको फेस प्याक, सुन्तलाको नुहाउने साबुन, तितेपातीको नुहाउने साबुन तथा निमपातको नुहाउने साबुन बजारमा ल्याइएको छ। उत्पादनको बजारीकरण सन्तोषजनक बन्दै गए थप आयुर्वेदिक सामग्री उत्पादन गर्ने योजना उद्योग सञ्चालकको छ।
झण्डै आठ लाख रुपैयाँको लागतमा सञ्चालित उद्योगका लागि कच्चा पदार्थ, प्याकेजिङ तथा लेबलिङ मेसिन व्यवस्थापनमा कार्यक्रमले सहजीकरण गर्दै आएको छ। रेग्मीसहित मिरा मल्ल र शर्मिला कुँवरको संयुक्त एएमएस आयुर्वेदिक टिमले आगामी दिनमा स्थानीय जडीबुटी तथा कृषि उत्पादनमा आधारित थप आयुर्वेदिक सामग्री उत्पादन गर्ने तयारी गरेको जनाएको छ।
उद्योगले सुन्तलाको बोक्राको सदुपयोगमार्फत फोहोर व्यवस्थापनमा टेवा पुर्याउनुका साथै युवा तथा महिला उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुग्ने विश्वास गरिएको छ। ‘खेतदेखि बजारसम्म र उत्पादनदेखि ब्रान्डसम्म’ जोड्ने लक्ष्यसहित सुरु गरिएको यस प्रयासले स्याङ्जाको सुन्तलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।




