पोखरा । स्याङ्जामा मापदण्डविपरीत पशुचौपाया ढुवानी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा गल्याङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३५३७ नम्बरको ट्रकमा २५ वटा भैँसी तथा पाडो र चार वटा बाख्रा मापदण्डविपरीत ढुवानी गरिएको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार चौपायालाई ट्रकको छतको हुडमा राखी निर्दयी व्यवहारसहित ढुवानी गरिएको थियो। घटनापछि ट्रक, २५ वटा भैँसी तथा पाडो चार वटा बाख्रासहित चौपायाका जिम्मेवार धनी गल्याङ नगरपालिका–११ निवासी ४० वर्षीय ईश्वर नेपालीलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका नेपालीविरुद्ध पशुपन्छीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताए।




