पोखरा। नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले विभिन्न जातजातिले मगर समुदायको संस्कृतिलाई आफ्नो भनेर दाबी गरिरहँदा मगर समुदाय आफैँले आफ्ना संस्कार र संस्कृतिलाई बिर्सन नहुने बताएका छन्।
नेपाल मगर पत्रकार सङ्घ कास्कीको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको सहआयोजनामा शुक्रबार पोखरामा आयोजित मगर मौलिक कौराहा संवाद कार्यक्रममा उनले कौराहा मगर समुदायको मौलिक संस्कृति भएकाले यसको राष्ट्रियस्तरमा सूचीकरण गर्न आवश्यक रहेकोमा जोड दिए।
‘हामीले सूचीकरण नगरेको खण्डमा अन्यले हक जमाउन सक्छन्, तर यो विषयमा सरकारले पनि ध्यान दिएको छैन,’ उनले भने, ‘यसका लागि हामी र हाम्रो समुदाय आफैँ एकजुट भएर लाग्नु आजको आवश्यकता हो।’ उनले आफ्नो संस्कार र संस्कृतिको संरक्षणमा सबैलाई सक्रिय हुन आग्रह गरे।

नेपाल मगर सङ्घका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगरले कौराहाको इतिहाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै कौराहा नृत्य मगर समुदायको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको बताए। जिल्ला र स्थानअनुसार कौराहामा केही भिन्नता देखिए पनि यसको संस्कार र संस्कृति एउटै रहेको उनको भनाइ थियो।
‘मगर भाषाको “कानराहा” शब्दबाट “कौराहा” शब्द बनेको हो,’ उनले भने, ‘कौराहा एउटा सागरजस्तै हो, यसको गहिराइ नाप्न सकिँदैन र यसको बयान गर्न कुनै शब्द छैन।’ मगर समुदायको बसोबास बढी भएका क्षेत्रमा यो नृत्य प्रचलित रहेको तथा माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म कौराहा नाच्ने चलन रहेको उनले बताए। मगर समुदायबाट सुरु भएको कौराहा नृत्यलाई अन्य समुदायले पनि अपनाउँदै जानु गर्वको विषय भएको उनको भनाइ थियो।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका विज्ञ समूहका संयोजक यामबहादुर आले मगरले कुनै पनि समुदायको अस्तित्व मेटाउन त्यसको संस्कार र संस्कृतिमाथि आक्रमण गरिने भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिए। आफ्नो इतिहास, संस्कार र संस्कृतिको संरक्षणका लागि समुदाय एकजुट हुनुपर्ने तथा आदिवासी जनजातिको पहिचान जोगाउनु अहिलेको आवश्यकता रहेको उनले बताए।
नेपाल मगर पत्रकार सङ्घ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी केन्द्रीय सदस्य गीता रखाली मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रमको सञ्चालन सङ्घका सचिव बलबहादुर रोका मगरले गरेका थिए।




