पोखरा। पोखरामा यू–१६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता–२०८३ सुरु भएको छ।
गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल सङ्घको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले गरेका हुन्।
उद्घाटन कार्यक्रममा सदस्यसचिव शर्माले गण्डकी प्रदेशमा खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि परिषद् प्रतिबद्ध रहेको बताए। उनले ह्याण्डबल खेलको विकासमा प्रदेश ह्याण्डबल सङ्घले पुर्याएको योगदानको कदर गर्दै परिषद्ले सङ्घलाई उत्कृष्ट खेल सङ्घका रूपमा सम्मान गर्न लागेको जानकारी दिए।
“परिषद् खेलकुद र खेलाडीको अभिन्न अङ्ग बन्दै अघि बढिरहेको छ। परिषद्ले निर्माण गरेका खेलकुद नीतिहरू अहिले राष्ट्रियस्तरमै चर्चाको विषय बनेका छन् भने अन्य प्रदेश तथा राष्ट्रिय खेलकुद परिषद्ले समेत अनुसरण गर्न थालेका छन्,” उनले भने।
उनले आगामी असार ३० गते परिषद्ले खेलाडी छात्रवृत्ति, उत्कृष्ट खेल सङ्घ तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने जानकारी दिँदै यसबाट खेलाडीमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। खेल क्षेत्रमा योगदान पुर्याउने खेलाडी तथा सङ्घसंस्थालाई प्रदेश खेलकुद पदक प्रदान गरिने उल्लेख गर्दै उनले जुनियर तथा सिनियर खेलाडीको योगदानको कदर गर्दै उनीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न सबै पक्षसँग आग्रह गरे।

सदस्यसचिव शर्माले खेलाडी र खेल क्षेत्रका अधिकार सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै पछिल्लो समय खेलकुदको दायरा र खेलाडीको सङ्ख्या बढ्दै गए पनि खेल पूर्वाधार र बजेट घट्दै जानु चिन्ताको विषय भएको बताए।
“खेल क्षेत्रको दायरा बढ्दै गएको छ। खेलाडीको सङ्ख्या बढेको छ, खेल सङ्घहरू विस्तार भएका छन्। तर खेल मैदानको सङ्ख्या घट्दै गएको छ भने बजेटसमेत घट्दै गएको छ। यो हाम्रो लागि चिन्ताको विषय हो,” उनले भने। पदक जित्ने लक्ष्य खेलाडीको मेहनत र समर्पणमा निर्भर रहने उनले बताए।
गण्डकी प्रदेश ह्याण्डबल सङ्घका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश ह्याण्डबल सङ्घकी उपाध्यक्ष शान्ती थापा बैद्य, कोषाध्यक्ष शान्ता सिंह बस्नेत ‘कृष्ण’, जिल्ला खेलकुद समिति कास्कीका सदस्य डिल्लीजङ्ग गुरुङ, केन्द्रीय सदस्य विशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई जनही तीन हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिताको पहिलो दिन छात्रतर्फ ६ र छात्रातर्फ ४ गरी कुल १० खेल सम्पन्न भएका छन्। असार २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउट प्रणालीमा भइरहेको छ। प्रतियोगितामा छात्रतर्फ १३ र छात्रातर्फ ९ गरी कुल २२ टोलीको सहभागिता रहेको छ।




