newa srijana

१८७ औँ विश्व फोटोग्राफी दिवसमा पोखराका फोटोग्राफरको एकता

विश्व फोटोग्राफी दिवसमा पोखराका फोटोग्राफरको एकता, नयाँ कार्यालय उद्घाटन

पोखरा । फोटोग्राफीको महत्व र पेशागत एकताको सन्देश दिँदै पोखरा फोटोग्राफर संघले १८७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा संघले प्रभातफेरी, नयाँ कार्यालय उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाए ।

पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी न्यूरोडको संगममार्गमा रहेको संघको कार्यालय परिसरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। प्रभातफेरीमा पोखराका विभिन्न क्षेत्रका फोटोग्राफर, संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

संघको नयाँ कार्यालयको उद्घाटन पूर्वअध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले गरे । उद्घाटनपछि आयोजित कार्यक्रममा पौडेलले फोटोग्राफी दिवस नेपालभर विभिन्न कार्यक्रमसहित मनाइएको उल्लेख गर्दै पोखरामा भएको कार्यक्रमले फोटोग्राफर बीचको एकता, सहकार्य र आत्मीयता थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा फोटोग्राफीको बदलिँदो स्वरूप, सम्भावना र चुनौतीबारे चर्चा गरिएको थियो । वक्ताहरूले डिजिटल प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै फोटोग्राफीको क्षेत्र फराकिलो हुँदै गएको उल्लेख गर्दै नयाँ प्रविधिलाई आत्मसात् गरेर पेशागत क्षमता, सिर्जनशीलता र गुणस्तर बढाउनुपर्नेमा जोड दिए ।

सिटीजन फनिच्रर

फोटोग्राफी तस्बिर खिच्ने काममा मात्र सीमित नभई समाज, संस्कृति, प्रकृति, इतिहास र महत्वपूर्ण घटनाको अभिलेख राख्ने प्रभावकारी माध्यम भएको उनीहरूको भनाइ थियो । प्रविधिको तीव्र विकासले अवसरसँगै चुनौती पनि थपेकाले समय अनुकूल रूपमा व्यवसाय र पेशालाई रूपान्तरण गर्नुपर्नेमा वक्ताहरूले जोड दिए ।

दिवसका अवसरमा संघका पूर्वअध्यक्ष तथा संरक्षक गणेश छवी, निवर्तमान अध्यक्ष रामचन्द्र पोखरेल, पूर्वअध्यक्षहरू जयन्द्रकुमार राजभण्डारी, बलराम शर्मा, राममणि पौडेल, घनश्याम पौडेल, तुलसीराम सुवेदी र रबिनाथ दाहाल, पत्रकार इन्द्रप्रसाद पौडेल, प्रा डा चन्द्रबहादुर गुरुङ तथा पूर्व महिला उपसमिति संयोजक तीर्थ श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष भक्तबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नन्दकला पौडेलले स्वागत मन्तव्य र सचिव लक्ष्मीपती पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

नवनिर्मित कार्यालयलाई पोखराका फोटोग्राफरहरूको साझा थलोका रूपमा विकास गरि कार्यालय मार्फत फोटोग्राफरको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा फोटोग्राफी क्षेत्रको व्यावसायिक विकासका लागि आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरे ।

Pokhara learners