पोखरा । मदिरा व्यवसायी समिति, कास्कीले आयोजना गरेको कर तथा अन्तःशुल्कसम्बन्धी अन्तरक्रियामा व्यवसायीलाई प्रचलित कानुनअनुसार कर तथा अन्तःशुल्क बुझाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाले मदिरा व्यवसाय संवेदनशील क्षेत्र भएकाले कानुनी प्रावधान पालना गरी राजस्व संकलनमा राज्यलाई सहयोग गर्न व्यवसायीलाई आग्रह गरे। उनले कर प्रशासन व्यवसायीका समस्या समाधान गर्न तत्पर रहेको बताए।
समितिका अध्यक्ष कृष्णबहादुर भाटले व्यवसायी कर तिर्न तयार रहे पनि कर तथा अन्तःशुल्कसम्बन्धी प्रक्रिया सरल बनाउनुपर्ने बताए। उनले व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कामलाई पनि संस्थाले निरन्तरता दिइरहेको बताए।

मदिरा व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोविन्द केसी तथा समितिका पूर्वअध्यक्ष एवं महासंघका सल्लाहकार तारानाथ ढुङ्गानाले व्यवसाय क्षेत्रका समसामयिक समस्या, नीतिगत अस्पष्टता र कर प्रणालीका व्यावहारिक चुनौतीबारे धारणा राखे।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत धर्मेन्द्र शाह, सचिव पौडेल र कम्प्युटर अधिकृत सुदीप रेग्मीले चालु आर्थिक वर्षको कर नीति तथा मदिरा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी दिएका थिए।
ऋषि न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा करिब एक सय व्यवसायी सहभागी थिए। समितिका महासचिव श्रीराम पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए। व्यवसायीले कर तथा अन्तःशुल्कसम्बन्धी राखेका जिज्ञासा र समस्याबारे राजस्व कार्यालयका प्रमुख तथा कर्मचारीले सहजीकरण गरेका थिए।




