newa srijana

पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतमको प्यानल सार्वजानिक

भदौ २० र २१ गते हुने महाधिवेशनका लागि गौतमको नेतृत्वमा उम्मेदवारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनका लागि महासचिव शोभा गौतमले आफ्नो प्यानल घोषणा गरेकी छन् । भदौ २० र २१ गते हुने संघको ७२औँ साधारणसभा तथा ३६औँ महाधिवेशनका लागि गौतमले शुक्रबार पत्रकार भेटघाटमार्फत प्यानल सार्वजनिक गरेकी हुन् ।

‘समावेशी टिम, जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ नारासहित घोषणा गरिएको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेल छन् ।

गौतमले एकताबद्ध भएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमतिअनुसार प्यानलसहित उम्मेदवारी घोषणा गरिएको बताइन् ।

गौतम नेतृत्वको समूहले उद्योगी–व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने तथा युवा र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने एजेन्डा अघि सारेको छ ।

सिटीजन फनिच्रर

त्यस्तै, लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य र पैरवी गर्ने, पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने, संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने तथा साना, मझौला र ठूला उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता समूहले जनाएको छ ।

पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास तथा उद्योगी–व्यवसायीले भोगिरहेका नयाँ चुनौती सम्बोधन गर्न अबको नेतृत्व सक्षम, सक्रिय र परिणाममुखी हुनुपर्ने उल्लेख छ । संघलाई सबल, साझा, गतिशील, पारदर्शी, समावेशी र परिणाममुखी बनाउने उद्देश्यसहित आफूहरू एकजुट भएको विज्ञप्तिमा जनाइएको छ ।

संघको अध्यक्ष पदका लागि गौतमसहित चार जनाले आकांक्षा राखेका छन् । अर्जुन पोखरेल, उत्तम बुद्धाचार्य र बलराम आचार्यले भने अहिलेसम्म आफ्नो प्यानल सार्वजनिक गरेका छैनन् ।

२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् । भदौ ५ गते उम्मेदवारहरूले मनोनयनपत्र लिएका छन् भने भदौ ८ गते मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।

Pokhara learners