पोखरा । पोखरा फोटोग्राफर संघको ४४ वर्षे इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । संघको शनिबार सम्पन्न ४५औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशनले नन्दकला पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएसँगै संघले पहिलोपटक महिलाको नेतृत्व पाएको छ ।
करिब तीन दशकदेखि फोटोग्राफी क्षेत्रमा सक्रिय पौडेल व्यावसायिक फोटोग्राफीसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा समेत लामो अनुभव लिएकी व्यक्तित्व हुन् । फोटोग्राफीलाई पेसाका रूपमा अघि बढाउँदै उनले विभिन्न संघसंस्थामा रहेर सामाजिक क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएकी छन् ।

पौडेलको नेतृत्व अनुभव फोटोग्राफर संघमा मात्रै सीमित छैन। उनी माछापुच्छ्रे विकास संघमा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेकी छन् । सामाजिक गतिविधि, संस्थागत जिम्मेवारी तथा समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्दै आएकी पौडेलले विभिन्न संघसंस्थामा आबद्ध भएर आफ्नो अनुभवलाई फराकिलो बनाइ सकेकी छन् ।
पोखरा–५ निवासी पौडेल २०७२ सालदेखि पोखरा फोटोग्राफर संघमा आबद्ध भएकी उनि संघको सदस्यबाट यात्रा सुरु गरी कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीमा पुगेकी हुन् ।
संघ स्थापनादेखि हालसम्म २२ जना अध्यक्षले नेतृत्व गरिसकेका छन् तर ती सबै पुरुष थिए । यसपटक पौडेल अध्यक्षमा निर्वाचित भएपछि फोटोग्राफी क्षेत्रमा महिलाको सहभागितासँगै संस्थागत नेतृत्वमा पनि नयाँ सन्देश गएको छ ।

करिब ३० वर्षको फोटोग्राफी अनुभव, सामाजिक क्षेत्रमा निरन्तर सक्रियता र विभिन्न संघसंस्थामा काम गरेको संस्थागत अनुभव पौडेलको नेतृत्वको मुख्य आधारका रूपमा हेरिएको छ । उनको नेतृत्वमा संघले फोटोग्राफी व्यवसायको व्यावसायिक विकाससँगै नयाँ पुस्तालाई अवसर, महिला फोटोग्राफरको सहभागिता र फोटोग्राफरहरूको हकहितका विषयलाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ ।
२०३९ सालमा स्थापना भएको पोखरा फोटोग्राफर संघ नेपालका पुराना संस्था मध्ये एक हो भने संघका संस्थापक अध्यक्ष शम्भुरत्न शाक्य हुन् । निर्वाचन समितिका अनुसार संघको उपाध्यक्षमा लक्ष्मीपति पौडेल, सचिवमा अग्निधर तिमिल्सिना र कोषाध्यक्षमा राजुप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । सदस्यमा प्रकाश पौडेल, प्रेम श्रेष्ठ, मिर लम्साल, चन्द्रप्रकाश ढुंगाना र बबिता पौडेल निर्वाचित भएको ;मितिको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

अधिवेशनको उद्घाटन कास्की क्षेत्रनं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले गरेका थिए । संघका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्मारिका विमोचन गर्नुका साथै पाँचौँ संस्करणको फोटोग्राफी अवार्डसमेत प्रदान गरिएको थियो ।
विभिन्न नौ विधामा अवार्ड प्रदान गरिएको संघका निवर्तमान अध्यक्ष भक्त तामाङले जानकारी दिए । संघमा करिब ३ सय सदस्य रहेकामा २५औँ अधिवेशन सम्म १ सय ८८ सदस्यले सदस्यता नवीकरण गरेका थिए ।
फोटोग्राफीको क्यामेरासँग करिब तीन दशकदेखि जोडिएको अनुभव र सामाजिक क्षेत्रमा बनाएको लामो यात्रासहित पौडेल अब पोखराका फोटोग्राफरहरूको नेतृत्वमा पुगेकी छन् । उनको चयनले संघको इतिहासमा एउटा पद मात्र परिवर्तन गरेको छैन, महिलाको नेतृत्वका लागि नयाँ बाटो समेत खोलेको छ ।




