पोखरा । कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा अधिकारकर्मी तथा पत्रकार मधु पन्थी सम्मानित भएका छन् ।
समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा फाउण्डेसनले पन्थीलाई सम्मान गरेको हो ।
पन्थी विगत साढे दुई दशक भन्दा लामो समयदेखि मानव अधिकार, पत्रकारिता, सञ्चार तथा सामाजिक अभियानका क्षेत्रमा सक्रिय छन् । विशेषगरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकार तथा मानव अधिकारका सवाललाई सञ्चार माध्यम मार्फत जनसमक्ष पुर्याउन उहाँले निरन्तर योगदान दिँदै आएका छन् ।


पन्थीले २०५६ सालदेखि २०८१ सालसम्म अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरामा रहेर काम गर्दा इन्सेकमा आबद्ध रहँदा उहाँ मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा अभिलेखीकरण, पीडितका सवालको उठान र न्यायका लागि पैरवी लगायतका कार्यमा संलग्न थिए ।
मानव अधिकारका घटनालाई नजिकबाट नियाल्दै त्यससँग सम्बन्धित सवाललाई सञ्चार माध्यम मार्फत सार्वजनिक बहसमा ल्याउन पन्थीको भूमिका महत्वपूर्ण रहेको फाउण्डेसनले जनाएको छ ।
यसअघि पनि पन्थी शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराबाट २०६४ सालमा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकबाट २०६९ सालमा उत्कृष्ट कार्य गरेबापत सम्मानित भइसकेका छन् । फाउण्डेसनको साधारण सभामा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।




