newa srijana

माछापुच्छ्रे माविमा पुनर्मिलन, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

विद्यालयका १२ पूर्वविद्यार्थीले विद्यावारिधि गरेका छन्।

पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको पूर्वविद्यार्थी मञ्चले शुक्रबार विजया दशमीको अवसरमा विद्यालय परिसरमा पुनर्मिलन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। सोही अवसरमा मञ्चले २१औँ वार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ।

विद्यालयका १२ जना पूर्वविद्यार्थीले विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका छन्। पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक सुधार र समुदायको विकासमा प्रभावकारी भूमिका खेल्नुपर्ने प्रमुख अतिथि तथा संविधानसभा सदस्य डा. खिमलाल देवकोटाले बताए। विभिन्न क्षेत्रमा स्थापित पूर्वविद्यार्थीले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तासँग साझा गर्नुपर्ने उनले बताए।

विद्यालयको तथ्याङ्कअनुसार २०३२ सालमा पहिलोपटक एसएलसी परीक्षा सञ्चालन भएयता ८ हजार ३३३ भन्दा बढी विद्यार्थी भर्ना भएका छन्। ६ हजार २०० भन्दा बढीले एसएलसी वा एसईई तहसम्म अध्ययन गरेका छन्।

कार्यक्रममा आधारभूत तह, एसईई र माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित भए। विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउने शिक्षक र विद्यालयको शैक्षिक गतिविधिमा सहयोग गर्ने अभिभावकलाई पनि सम्मान गरियो।

सिटीजन फनिच्रर

सामान्य परिवेशबाट सङ्घर्ष गर्दै सरकारको विशिष्ट श्रेणीसम्म पुगेको आफ्नो अनुभव सुनाउँदै लगनशीलता, अनुशासन र निरन्तर प्रयासले लक्ष्य प्राप्त हुने विशिष्ट अतिथि तथा नेपाल सरकारका सचिव, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव विनोदबहादुर कुँवरले बताए।

पूर्वविद्यार्थीलाई सङ्गठित गर्दै विद्यालयको विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने अभियान प्रभावकारी बनाउनुपर्ने मञ्चका अध्यक्ष फणिन्द्र अधिकारीले बताए।

पुनर्मिलन र सम्मान कार्यक्रमले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्ध सुदृढ बनाउने र शैक्षिक गुणस्तर सुधारमा सहकार्यको अवसर दिने पूर्वप्राचार्य रामचन्द्र सुवेदीले बताए।

विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पूर्वविद्यार्थीको सहभागिता बढाउनुपर्ने मञ्चका निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी, संस्थापक अध्यक्ष डा. गिरधारी दाहाल, पूर्वअध्यक्ष यादवराज अधिकारी र प्रा. डा. यमनाथ तिमिल्सिनाले बताए।

पूर्वविद्यार्थी तथा रङ्गकर्मी दिवाकर भण्डारीले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे। उनले हरेक वर्ष यस्तो सहयोग गर्दै आएका छन्।

साधारणसभाले अध्यक्ष अधिकारी, महासचिव हरिप्रसाद भण्डारी र कोषाध्यक्ष कमला पौडेलले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गर्‍यो। उपाध्यक्ष रमेशराज भण्डारीले स्वागत मन्तव्य राखे र महासचिव भण्डारीले कार्यक्रम सञ्चालन गरे। कार्यक्रममा उपस्थित सबैले बडादशैँ, तिहार, छठ, नेपाल संवत् र ल्होसारलगायतका पर्वको शुभकामना आदानप्रदान गरे।

रुपा गाउँ पालिका