newa srijana

लान्द्रुकमा दशैं मेला सुरु

क्युप्चेबराह क्लबको आयोजनामा कात्तिक १० गतेसम्म चल्ने मेलामा भलिबल, घोडा दौड र सांस्कृतिक कार्यक्रम हुनेछन्।

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा ‘गन्तव्य लान्द्रुक दशैं मेला–२०८३’ सुरु भएको छ। क्युप्चेबराह क्लब लान्द्रुकको आयोजनामा शुक्रबार सुरु भएको मेला कात्तिक १० गतेसम्म चल्नेछ।

मेलामा पुरुष तथा प्रौढ भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन्। भलिबल प्रतियोगितामा २० टोली सहभागी भइसकेको खेल संयोजक महादेव गुरुङले बताए। मेलाले स्थानीय खेलकुद प्रतिभाको पहिचान, सांस्कृतिक सम्पदाको संरक्षण र लान्द्रुकको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकले बताएका छन्।

लान्द्रुकको समग्र विकासका लागि गाउँपालिका साथमा रहेको र स्थानीय पर्यटन, संस्कृति तथा पूर्वाधार विकासमा सहकार्य आवश्यक रहेको मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।

सिटीजन फनिच्रर

दशैं मेलाले गाउँको संस्कृति, पहिचान र मौलिकताको संरक्षण तथा प्रचारप्रसारमा योगदान पुर्‍याउने गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङले बताए। विविधताको सम्मान गर्दै सामाजिक सद्भाव र एकता कायम गर्नुपर्ने उनले बताए।

समाजका हरेक गतिविधिमा महिलाको सक्रिय सहभागिता आवश्यक रहेको अन्नपूर्ण महिला सञ्जालकी अध्यक्ष कमला केसीले बताइन्। मेलाको अवसरमा लान्द्रुक गाउँ घुम्न आउन मेला संयोजक विष्णु चापागाईंले आग्रह गरे।

क्लब अध्यक्ष विनय गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्लबका सचिव हितमान गुरुङले स्वागत मन्तव्य राखे। पूर्वसचिव बलबहादुर केसीले कार्यक्रम सञ्चालन गरे।

रुपा गाउँ पालिका