newa srijana

पोखरामा आज दसैं पर्यटन महोत्सव

स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिँदै नेपाली संस्कृतिको अनुभव गराइने।

पोखरा । कोजाग्रत पूर्णिमाका अवसरमा आज पोखरा–६, फेवाताल किनारस्थित बाराहीघाट खेल मैदानमा दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै छ। नेपाली चाडपर्वलाई पर्यटनसँग जोड्दै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजक महिला पर्यटन व्यवसायी मञ्चले महोत्सवको सम्पूर्ण तयारी पूरा गरेको छ। शनिबार पत्रकार सम्मेलनमार्फत मञ्चले यसबारे जानकारी दियो।

महोत्सवको सुरुवातमा आज बिहान साढे १० बजे खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन र‍्याली निकालिने मञ्चकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले बताइन्। र‍्यालीमा आमा समूह, पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, पञ्चेबाजा, सांस्कृतिक टोली र स्थानीय समुदायको सहभागिता हुनेछ।

‘टीका, जमरा, चङ्गा चेट : पोखरामा पर्यटकसँग दसैं भेट’ भन्ने मूल नारासहित हुने महोत्सवले नेपाली चाडपर्वलाई घरपरिवारमा मात्र सीमित नराखी विदेशी पर्यटकसँग पनि जोड्ने लक्ष्य राखेको भण्डारीले बताइन्। पोखरा आउने पर्यटकलाई नेपाली संस्कृति र परम्पराबारे जानकारी दिँदै दसैंको सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महोत्सव गरिएको उनले बताइन्।

महोत्सवको मुख्य आकर्षण स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिनु रहेको मञ्चकी संस्थापक अध्यक्ष जमुना पराजुलीले बताइन्। महोत्सवमा विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायका स्टल हुने उनले जानकारी दिइन्। चमरेली, रोटे र घुमाउने पिङलगायत मनोरञ्जनका गतिविधि पनि समावेश गरिने उनले बताइन्।

सिटीजन फनिच्रर

नेपाली मौलिक पर्वलाई पर्यटनसँग जोडेर स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको मञ्चकी अध्यक्ष ममता न्यौपानेले बताइन्। महोत्सवलाई साझा कार्यक्रम बनाउन सबैको साथ आवश्यक रहेको उनले बताइन्।

दसैं संस्कृतिलाई पर्यटनसँग जोड्ने प्रयास सकारात्मक भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। यस्ता कार्यक्रमले पर्यटकलाई नेपाली मौलिकताबारे जानकारी दिनुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उनले बताए।

महोत्सवको टाइटल स्पोन्सर गृहलक्ष्मी ग्यास हो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्, पर्यटनसम्बद्ध सङ्घसंस्था, आमा समूह र नागरिक समाजको साथ रहेको मञ्चकी महासचिव भावना रानाभाटले बताइन्।

पोखराको पर्यटन क्षेत्रमा महिला व्यवसायीको सहभागिता र नेतृत्व सशक्त बनाउँदै आएको मञ्चले स्थानीय संस्कृति, मौलिकता र सामुदायिक पहिचानको प्रवर्द्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

रुपा गाउँ पालिका