लमजुङमा पहिरोले घर बगायो, एउटै परिवारका ४ जना बेपत्ता

 

 

लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार राती राती पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
गएराती १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाएको र २ घरका ४ जना बेपत्ता भएको वडा सदस्य बिनबहादुर घलेले बताउनुभयो । पहिरोमा परेर अन्दाजी ६९ वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने उहाँका बुहारी अन्दाजी ३७ वर्षिया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरु अन्दाजी ७ वर्षिया इच्छा र अन्दाजी ५ वर्षिया नम्रता बेपत्ता भएको उहाँले बताउनुभयो ।
पहिरोले क्व्होलासोथा गाउँपालिका योजना प्रमुख चित्र घलेको घर बगाएको र घरमा रहेका अन्दाजी ३६ वर्षिया भाइ भीमबहादुर घले घाइते भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भीमबहादुर खोपीतिर सुतेका कारण बाँच्न सफल भएका हुन् । रुद्रमानका श्रीमती लिलाकुमारी र पञ्चकुमारीका छोरा अन्दाजी ९ वर्षिय निरज गुरुङ छिमेकीकोमा सुतेकोले बाँच्न सफल भएका छन् ।
स्थानीय जुना घलेले पहिरोमा परेर ४ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताउनुभयो । अहिले पानी परिरहेकाले उनीहरुको खोजीमा समस्या भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी, बेंसीसहर नगरपालिका ११, चिती स्याउतमा पहिरोले घर भत्किाउँदा २ जना घाइते भएको र घाइतेलाई बेंसीसहरस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बगुममा पहिरोले बगाउँदा ४ जना बेपत्ता भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा र अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी खटिएका छन् ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक घलेले बताउनुभयो । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजीकार्य भइरहेको बताउनुभयो । गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर घलेले वेपत्ता भएकाको स्थानीयले रातीदेखि नै खोजीकार्य जारी राखेको बताउनुभयो ।  समाचार श्रोत चौतारी लाईभ डटकम लमजुड.

Leave A Reply

Your email address will not be published.