पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को तयारी पूरा भएको छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा मंसिर ९ देखि १५ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोली सहभागी हुने प्रतियोगिता संयोजक थमन गुरुङले बताए ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर सम्बन्धित टोलीसँग समन्वय गरी प्रतियोगिताको तयारी गरिएको उनले बताए । विदेशी खेलाडीसमेत सहभागी हुने भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।
प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले बताए ।
प्रतियोगिताका सबै खेल हेर्नका लागि सिजनल पासको शुल्क दुई हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । दैनिक प्रवेश टिकटको शुल्क भने पछि सार्वजनिक गरिने अध्यक्ष गुरुङले बताए । खेलकुद विकास र सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
प्रतियोगितामा सहभागी खेलाडीको आवास, यातायात र प्राविधिक व्यवस्थापन निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सीले एजुकेसन पार्टनर र जीएमसी हस्पिटलले मेडिकल पार्टनरका रूपमा सहयोग गर्नेछन् । त्यस्तै, पब्लिक फोरके टेलिभिजनसँग प्रसारण सहकार्य गरिएको क्लबका सचिव अशोक थापाले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।




