newa srijana

टेम्पल ट्रि रिसोर्ट तेस्रो पटक उत्कृष्ट करदाता सम्मानित

आर्थिक वर्ष २०८१/८२ मा बढी आयकर दाखिला गर्ने कास्की र स्याङ्जाका तीन संस्था सम्मानित

पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा तेस्रो पटक उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा बढी आयकर दाखिला गर्ने करदातामध्ये रिसोर्टलाई छनोट गरी सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापनका अवसरमा आयोजित कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले रिसोर्टका अध्यक्ष बसन्त गौतमलाई दोसल्ला, माला र सम्मानपत्र प्रदान गरे ।

सम्मान ग्रहण गर्दै अध्यक्ष गौतमले प्रचलित कानुन र कर प्रणालीको पूर्ण पालना गरेर व्यवसाय सञ्चालन गर्दै आएकोमा सरकारले त्यसको मूल्यांकन गरेको बताए । १७ वर्षदेखि सञ्चालनमा रहेको रिसोर्टमा ६८ कोठा छन् । तीमध्ये १८ वटा सुपर डिलक्स, चारवटा सुइट र ४६ वटा डिलक्स कोठा रहेको गौतमले बताए ।

यस वर्ष रिसोर्टसँगै पोखरा–५ मालेपाटनस्थित एक्सेस कन्स्ट्रक्सन प्रालि र पोखरा–१३ कुडहरस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् । एक्सेस कन्स्ट्रक्सनकी सञ्चालक विद्या लक्ष्मी लामिछाने र सहकारीका अध्यक्ष माधवप्रसाद सिग्देललाई पनि सम्मान गरिएको हो ।

सिटीजन फनिच्रर ..

आयकरतर्फ बढी कर दाखिला गरेका, कर बक्यौता नरहेका तथा कुनै पनि कर अवधिको विवरण बुझाउन बाँकी नरहेका करदातालाई सम्मानका लागि छनोट गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले राज्यलाई समयमै र उचित रूपमा कर तिर्नुपर्ने बताउँदै करबाट प्राप्त राजस्व मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको आधार भएको बताए । राजस्व लक्ष्य प्राप्तिका लागि करदाताको दर्ता, कर दायित्व, दाखिला, दक्षता र करको दायरा विस्तारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रमुख कर अधिकृत ढुङ्गानाले कर प्रशासन र करदाताबीचको सम्बन्ध सुमधुर बनाउँदै सेवामा गुणात्मक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । आर्थिक ऐन, २०८३ ले करको दायरामा नआएका, विवरण दाखिला नगरेका तथा कर निर्धारण भई राजस्व बुझाउन बाँकी करदातालाई दिएको कर छुट सुविधाको अन्तिम म्याद पुस मसान्तसम्म रहेकाले समयमै उपयोग गर्न उनले आग्रह गरे ।

कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यको १०४ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ । वार्षिक ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म २ अर्ब ३६ करोड ५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । संकलित रकममध्ये आयकरतर्फ १ अर्ब २६ करोड ८२ लाख ४९ हजार र मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको कार्यालयमा आयकरतर्फ ९० हजार, मूल्य अभिवृद्धि करतर्फ १५ हजार १२०, अन्तःशुल्कतर्फ ५ हजार ५९६ र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ २ लाख ५२ हजार २५२ करदाता दर्ता छन् ।

Byd