दुई पुस्ताको मेरो अनुभवमा पृथ्वीनारायण क्याम्पस

(समाधान दैनिक पत्रिकाबाट साभार लेख)

घनश्याम पौडेल,  ( हाल स्नाकोत्तर तह समाजशास्त्र)
हामी पुस्ता भन्नाले सामान्यतय ३० वर्षको उमेर फरकलाई मान्दछौ । तर पोखराको शैक्षिक क्षेत्रको मियो ६४ बर्षे पृथ्वी नारायण क्याम्पसले बिद्यार्थीको हिसावमा ३ पुस्ता गुजारेको भन्ने मैले मानेको छु ।
पहिलो पुस्ता— बि.सं २०१७ देखी २०४० सम्मका क्याम्पस बिद्यार्थी ।
दोश्रो पुस्ता — बि.सं २०४१ देखी २०६० सम्मका क्याम्पस बिद्यार्थी ।
तेश्रो पुस्ता — बि.सं २०६१ देखी २०८१ सम्मका क्याम्पस बिद्यार्थी ।
बि.सं २०१७ भाद्र १७ मा स्थापना भएको पृथ्वी नारायण कलेज आज ६४ वर्ष पुरा गरि ६५ वर्षमा प्रवेश गरेको क्याम्पस भएको छ । यो क्याम्पसको पहिलो पुस्ताका बिद्यार्थी स्थापना काल देखी बि.सं २०४० सम्मका बिद्यार्थी हुन भन्ने लाग्छ । किनकी यो पुस्ताका बिद्यार्थी बिद्या र गुरुलाई धेरै आदर गर्थे । स्थापना काल भएर नै होला अग्रजहरुको अनुसार उनीहरु क्याम्पस बनाउने कार्यमा आफ्नो घर सरह ठानेर लागे । शिक्षा नै मनुष्यको ज्योतीबिन्दु हो भन्ने ठान्ने यो पुस्ता यो क्याम्पसमात्र हैन अन्य बिभिन्न क्षेत्रमा शैक्षिक संस्था बनाउने र समाजलाई शिक्षाको महत्व बुझाउने असल अनुशासित पुस्ता थियो भन्न सकिन्छ । यही पुस्ता पछी देशका नेता देखी देश हाक्ने बिभिन्न अंगमा पुगे । कती त यही क्याम्पसका प्रमुख बने भने शिक्षा क्षेत्रमा धेरै बिभिन्न स्थानमा गुरु बने । गणेशमान गुरुड., गणेशमान पालिखे, राधेस्याम कमारो, सोमनाथ प्यासी, गेहेन्द्रेश्वर कोइराला, दिल बहादुर क्षेत्री, महादेव गुरुड., दिपेन्द्र बहादुर क्षेत्री आदी पहिलो पुस्ताका बिद्यार्थी हुन जस्ले क्याम्पस लगायत देशका बिभिन्न तहमा रहेर कार्य गरे ।
दोश्रो पुस्ताका बिद्यार्थी राजनैतीक गतिबिधीमा बढि केन्द्रित रहे किनकी तत्कालिन देश र समाजको परिस्थिती एवं युवाहरुमा शैक्षिक चेतनाले राजनैतीक परिर्वतन नगरी देश बिकास हुदैन भन्ने सोचको बिकास भईसकेको थियो । यसैले यो दोश्रो पुस्ताको चरणका बिद्यार्थी क्याम्पसको बिकास भन्दा देश र समाजको बिकासमा राजनैतीक परिर्वतन हुनुपर्छ भनेर नेतृत्व गर्ने पुस्ता मैले मान्दछु । किनकी यही क्याम्पस वरपर पटक पटक बिद्यार्थी र राजनैतीक ब्यवस्था बिच झडप भैरहन्थ्यो । कहिले काही बिद्यार्थी बिद्यार्थी बिच वा कहिले बिद्यार्थी क्याम्पस प्रशासन बिच झडप भैरहेको बिगत छ । बि.सं २०४६ को राजनैतीक परिर्वतनन यही पुस्ताका बिद्यार्थीको योगदान थियो भन्ने लाग्छ । यस पुस्ताका बिद्यार्थी पनि देशको नेतृत्व तहमा पुग्नुको साथै अन्य बिभिन्न अंगहरुमा पुगेर नेतृत्व लिएका बिद्यार्थीको संख्या लाखौ छ । कृष्ण बहादुर महरा, खगराज अधिकारी , हितकाजी गुरुड., झलक सुबेदी , रबिन्द्र अधिकारी, देवराज चालिसे देखी पदम गिरी सम्मका अन्य हजारौ छन ।
तेश्रो पुस्ता बिद्यार्थी जस्ले नत धेरै क्याम्पसको बिकासमा लागे न त स्वच्छ राजनैतीक रंगमा होमिए मात्र पढाई र आफ्नै क्यारियरमा बढि ध्यान दिने पुस्ताको रुपमा मैले राखेको छु । यो पुस्ताका केही बिद्यार्थीहरु पनि राजनैतिक गतिबिधीमा होमिएको पाईन्छ तर पनि मेरो बिचारमा समाज र देश परिर्वतन भन्दा आफ्नो परिर्वतनको महत्व खोज्ने पुस्ताको रुपमा मैले ठानेको छु । यो नितान्त ब्यक्तिगत धारणा हो तर पनि देशको राजनैतीक परिस्थिती र भुमण्डलिकरण पनि होला यो पुस्ता सामाजिक भन्दा स्वार्थी बढी भएको मान्दछु । खुल्ला मिडिया वा सोसल मिडियाले पनि हामी सवैलाई आफ्नो फाईल स्टाटस र आफ्नो प्रगतीमात्र देख्ने बनाएको छ भने त्यही मानसिकता आम बिद्यार्थीमा पर्नु सामान्य कुरा नै हो । यो पुस्ताले माओबादी द्धन्द्धको अन्तिम चरण देख्न भोग्न पायो भने बि.सं २०६२∕६३ आम्दोलनमा प्रतक्ष संलग्न रह्यो । पछी संबिधान सभा, चुनाव देखी जातिय गतिबिधी एवं साम्प्रदायिक आम्दोलनहरुका प्रभाव पनि रहे तर पनि समग्र समाज देश भन्दा केवल म र मेरो समूह समुदाय भन्ने पुस्ता हो यो भन्ने लाग्छ । यसैले यो पुस्ताका नेतृत्व तहका बिद्यार्थी समेत धेरै बिद्यार्थीे देश बनाउने चिन्ता भन्दा बिदेश जाने र आफ्नो जिवनस्तरको बिकास गर्ने तर्फ लागेको पाईन्छ । यो बिद्यार्थीको गल्ती कमजोरी अवस्य हैन समयको माग पनि हो भने ग्लोबलाईजेशन र सोसल मिडियाको प्रभाव पनि हो ।
पृथ्वीनारायण क्याम्पस नेपालको सवै भन्दा ठुलो क्याम्पस हो । किनकी यसमा पढ्ने बिद्यार्थीको संख्या हाल पनि १२ हजार भन्दा धेरै छन भने पढाउने शिक्षक ५ सय बढि छन । एक सय जना कर्मचारी छन जस्ले प्रतक्ष रोजगार पाएका छन । मानबिकी, बिज्ञान, शिक्षा, कानून र ब्यवस्थापन गरी ५ फ्याकेल्टीमा ३३ विषयमा बिहान दिउसो साझ गरि बिद्यार्थी पढछन । फेरी क्षेत्रफलको हिसावमा पनि ७ सय १५ रोपनीमा फैलिएको यो क्याम्पसका १०८ साना ठुला शैक्षिक प्रशासनिक भवन छन भने ५२ वटा ब्यापारिक सटरकवल छन । करिव ९५ हजार पुस्तक र १० हजार थेसिस रहेको पश्चिमाञ्चल पुस्तकालय, कम्प्युटर ल्याव, प्रयोगशाला, मल्टीमिडिया, सभासेमिनार हल, खानेपानी, छात्रबास एवं खेलमैदानहरु गरेर प्रसस्त पूर्वाधार भएको यो क्याम्पसमा अझै समयसापेक्ष भौतिक संरचनाको खाचो पनि देखिन्छ । वार्षिक झण्डै ४० करोड क्याम्पस सञ्चालन खर्च रहे पनि अन्तरिक आय करिव १२ करोड मात्र छ । त्रिभूवन बिश्वबिद्यालय अनुदान तथा सरकारी श्रोत आदीबाट क्याम्पसको नियमित झण्डै ३० करोड नियमित बजेट रहेको छ । दुखको कुरा यो क्याम्पस देशकै ठुलो र शक्ति सम्पन्न भए पनि वर्षेनी करिव १० करोड घाटा बजेटमा चलिरहेको छ । तर हाम्रो अग्रज बिद्यार्थी शिक्षकहरु झै क्याम्पस कसरी कुन अवस्थामा चलेको छ र अव के गर्नु पर्छ भन्ने गहिरो चिन्ता अहिलेका बिद्यार्थीमा र शिक्षक तथा प्रशासन हाक्नेहरुमा पनि भएको पाईदैन । त्यसैले पनि यो तेश्रो पुस्ताले धानेको क्याम्पस भएकाले मलाई अहिलेको पुस्ता स्वार्थी पुस्ता त हैन भन्ने लाग्छ, यो मेरो नितान्त ब्यक्तिगत धारणा हो ।
पर्यटकिय शहर पोखराको मुटुमा रहेको यो सुबिधा सम्पन्न क्याम्पस जे जस्ता बाधा अवरोध भए पनि नेपालकै ठुलो क्याम्पस बन्न सकेको छ । वास्तवमा यो त्रिभूवन विश्वबिद्यालय अन्तरगतको आफै एक बिश्वबिद्यालय हो । यही क्याम्पसमा म एक बिद्यार्थीको नाताले दुई पुस्तामा पढ्ने अवसर पाएको भाग्यमानी बिद्यार्थी मलाई ठान्दछु । प्राय यो क्याम्पसमा एक पुस्तामा पढेर अर्को पुस्तामा पढाउन आउने गुरुहरु छन तर म यस्तो बिद्यार्थी हु जस्ले दोश्रो पुस्ता अर्थात बि.सं २०४६ देखी २०५२ सम्म कानूनमा प्रमाणपत्र तह र स्नातक तह पढे । फेरी २७ वर्ष पछी समाजशास्त्रमा स्नाकोत्तर गर्न बि.सं २०७८ देखी ८१ सम्म पढ्न आईपुगे । यसैले म यो क्याम्पसको दोश्रो पुस्ता र तेश्रो पुस्ताको बिद्यार्थी बन्न पुगेको हु । अर्को तर्फ तत्कालिन देशको अग्रणी सञ्चार माध्याम कान्तिपुर मिडियामा बि.सं २०५८ देखी २०६५ सम्म पोखरामा नै रहेर ससक्त पत्रकारिता गर्ने अवसर पाएका कारण पनि क्याम्पसका गतिबिधी पत्रकारको नाताले नजिकबाट हेर्ने, बुझ्ने मौका पाएको थिए । यही समयखण्डमा पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रार्चाय जर्ज जोन सरको पुस्तक अशल गुरु लेख्नका लागि मेरो साथी अमृत भादगाउले लाग्नु भएको थियो भने त्यस पुस्तकको फोटो संयोजनको कार्य मैले गर्ने मौका पाएको थिए । क्याम्पसकै पहिलो दोश्रो ब्याचका बिद्यार्धीहरुसग अन्तरबार्ता गर्ने मौका समेत पाएको थिए । त्यसैले पनि अघिल्लो पुस्ताका केही अग्रज मान्यवरहरुसग साक्षात्कार हुने मौका मिलेको थियो भने आज भन्दा २० वर्ष अगाडी नै जर्ज जोन सरका अनुभव सुन्ने मौका पाएको थिए । उहाले बाटुलेचौरबाट बास र खर बोकेर ल्याई कलेज बनाएको देखी चर्पीमा चुरोट पिउने बिद्यार्थीलाई सजाय दिन आगो लाग्यो कि भनेर बाल्टीमा पानी बोकेर चर्पी अगाडी उभिएको किस्साहरु सुनाउनु भएको थियो ।
आज लामो समयको बिदेश बसाई र अनुभव पछी फेरी आफ्नै छोराछोरीका उमेरका भाई बैनी र साथीहरुसग बसेर समाजशास्त्रमा स्नाकोत्तर पढ्ने अवसरले मलाई पृथ्वी नारायण क्याम्पसको बारेमा केही लेख्न आट आएको हो । म लामो समय संयुक्त राज्य अमेरिकामा बस्दा त्यहाको सर्वोकृष्ठ १० मध्यका नर्थ क्यारोलिना राज्यको दुराम शहरको ड्युक युनिभर्सिटि र क्यालिफोर्निया राज्यको सिलिकन भ्यालीको स्टानर्फोड युनिभर्सिटि नजिक बसेको छु । त्यहा पढ्ने पढाउने मौका नपाए पनि एक शहर बासिन्दा र स्थानियको नाताले ती दुई युर्निभर्सिटी मेरो बिदेश बसाईको क्रममा मुख्य फुर्सत समय काट्ने स्थान थिए । यसैले पनि बिश्वबिद्यालयको बाहिरी वातावरण मात्र भए पनि देखेको म हाम्रो पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर पढ्न आउदा पहिले भन्दा भौतिक संरचना निकै खस्केको देख्दा सारै दुख लाग्छ । म एक सामान्य बिद्यार्थीले त के नै गर्न सक्छु र तर पनि प्रशासनिक तथा शैक्षिक क्षेत्रका अस्तब्यस्तता र कलेजको भौतिक संरचना देख्दा मलाई जर्ज जोन सर र पहिलो पुस्ता अझ पहिलो ब्याचका बिद्यार्थीका भनाई याद आईरहन्छ । आज हाम्रो क्यानटिन र त्यसपछीको पुरुष छात्रबासको अवस्था देख्दा दुख लाग्छ भने हाम्रो नमुना पुस्तकालयको अवस्था त्यस्तै नाजुक छ । क्याम्पसमा धेरै सुधार र बिकास भएका पनि छन तर समयानुकुल प्रबिधी मैत्री बनाउन भने अझै नसकिएको हो कि भन्ने लाग्दछ । आशा गरौ अवको चौथो पुस्ताले पक्कै यो सुन्दर नगरी पोखराको रमणिय पृथ्वीनारायण क्याम्पसलाई बिश्वबिद्यालयमा परिणत गराउने छ र देशको मात्र हैन संसारकै उत्कृष्ठ मध्यको एक बिश्व बिद्यालय बनाउने अभियानमा अवस्य लाग्ने छन । धन्यबाद ।

 

Leave A Reply

Your email address will not be published.