काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यही माघ ११ र १२ मा काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो ।
साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउनेछन् ।
पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताए ।
वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने बैठकमा तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेतालाई जिम्मेवारी हेरफेर गरिने पनि नेता श्रेष्ठले जानकारी दिए ।