पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको प्रथम अधिवेशनले उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
हालै भएको अधिवेशनबाट संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भिममाया गुरुङ (ज्योति), सहसचिवमा शिव प्रसाद न्यौपाने (नवलपुर), सदस्यहरुमा क्षितिज गुरुङ (मनाङ), विकासकृष्ण नकर्मी (कास्की), दिपकराज गिरी (कास्की), अविश्चल भुजेल (स्याङजा), खुमबहादुर कार्की (तनहुँ) र दर्पण श्रेष्ठ (स्याङ्जा) सर्वसम्मत चयन भए । संघमा रिक्त एक उपाध्यक्ष र एक सदस्य पदमा प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरी संघ १३ सदस्यीय हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले खेलकुदको विकास र राम्रा खेलाडी उत्पादनमा प्रदेश खेलकुद परिषद सधैं तत्पर रहेको बताए । २०८१ चैत्र २३ गतेदेखि हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न चाँडै नै बन्द प्रशिक्षणको लागि तयारी भएको उनले सुनाए ।
सो अवसरमा अखिल नेपाल टेबुलटेनिस संघका उपाध्यक्ष एवम् केन्द्रका प्रतिनिधि प्रकाश पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषदका बोर्ड सदस्य एवम् निर्वाचन संयोजक केशव पाठक लगायतले शुभकामना व्यक्त गरेका थिए ।
संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गंगाराज पौडेलले र कार्यक्रम संचालन तथा संघको प्रतिवेदन सचिव अनुप श्रेष्ठले प्रस्तुत गरेका थिए ।