newa srijana

एभरेस्ट एफएमको रक्तदानमा १३५ युनिट रगत संकलन

पोखरा  । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन भएको छ। एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको वार्षिकोत्सवका अवसरमा शनिबार लायन्स क्लब अफ पोखरा पिसटाउनसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रममा १०७ पुरुष र २८ महिलाले रक्तदान गरेका छन्।

‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने नारासहित आयोजित कार्यक्रममा १५ जनाले पहिलोपटक रक्तदान गरेका छन्। प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विभिन्न संघसंस्था तथा नागरिकको सहभागिता रहेको कार्यक्रम संयोजक तथा एफएमका वरिष्ठ समाचार वाचक शिशिर पौडेलले बताए।

कार्यक्रमको सुरुवात रक्त सञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्रकुमार केसी र आकस्मिक रक्त सञ्चार युनिट पोखराका प्रमुख हरिश्चन्द्र शर्माले पहिलो रक्तदाता पत्रकार विनोद लामिछाने र समाजसेवी टेकनाथ आचार्यलाई रक्तदानका लागि आवश्यक सामग्री हस्तान्तरण गरेर गरेका थिए। रक्तदान बिहान साढे ७ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन भएको थियो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष कर्मकुमारी गुरुङले बताइन्। जीवन बचाउने अभियानमा सहभागी हुने सबैलाई उनले धन्यवाद दिइन्।

Lekhnatha

रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले एफएमले रक्तदान कार्यक्रम गर्दै आएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले बताए। पोखरामा रगतको अभाव भएका बेला कार्यक्रमले त्यसलाई कम गर्न सहयोग पुग्ने विश्वास रहेको उनले बताए। मिडिया हाउसले वार्षिक कार्यतालिका बनाएर रक्तदान गर्दै आएको पनि उनले बताए।

रक्त सञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसीले स्वस्थ व्यक्तिले तीन महिनाको अन्तरालमा रक्तदान गर्न सक्ने बताए। रगतको विकल्प रगत नै भएकाले रक्तदानले अरूको जीवन बचाउन सहयोग पुग्ने उनले बताए।

कार्यक्रमलाई तमु धिं नेपाल, फिस्टेल नर्सिङ कलेज, सुनचाँदी व्यवसायी संघ कास्की, बिग डिजिटल पोखरा, सिटिजन फर्निचर, हिमालयन एभरेष्ट इन्स्योरेन्स, डिजिटल साउण्ड एण्ड भिजन, युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखरा र आस्था किड्नी एण्ड स्पेशलाइज्ड अस्पतालले सहयोग गरेका थिए।

त्यस्तै स्टेशन दी फूड क्लब, कञ्चन ज्वेलर्स, आरडीएस क्याटरिङ सर्भिस, पोखरा भिलेज एण्ड स्पा, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज, इम्पावर हेल्थ केयर, गणेशमान प्रधानाङ्ग, टुँडिखेल र पोखरा–१६ की जनप्रतिनिधि मञ्जु बस्यालले पनि सहयोग गरेका थिए।

सिटीजन फनिच्रर ..