काठमाडौं । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे छानबिन गर्नुपर्ने भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति एमालेले संसद्मा आपत्ति प्रकट गरेको छ ।
प्रतिपक्षी नेताको हैसियत बिर्सेर प्रचण्डले सडकका कुरा संसद्मा गरेको एमालेको आरोप छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद पदम गिरीले प्रधानमन्त्रीलाई अनर्गल प्रचार गर्ने काम खेदजनक भएको बताएका हुन् ।
‘प्रतिपक्षी दलको नेताले सदनमा आएर सडकमा बोलेजस्तो बोल्नुभयो । प्रधानमन्त्रीको कम्बोडियामा लगानी छ भनेर बजारको विषयलाई लिएर संसद्मा छानबिनको माग गर्नुभयो’, गिरीले संसद्मा प्रश्न गरे, ‘लडाकु शिविरमा घोटाला गरिएको पैसा दुबईको बैंकमा लगानी गरिएको भनेर सुनेको छु । जनयुद्धको बेला बैंक लुटेको पैसा अमेरिकाको लसभेगसको जुवाघरमा लगानी गरिएको छ भनेर सामाजिक सञ्जालहरूमा पढेको छु । प्रमुख प्रतिपक्षी दलका नेताको लगानी छ भनेर संसदीय छानबिन गर्ने ?’

यसअघि माघ २४ गते संसद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्विस बैंक र कम्बोडिया प्रकरण छानबिन गर्न चुनौती दिएका थिए । ‘आज म गिरिबन्धु या ओम्नी भन्दिनँ । स्विस बैंक र कम्बोडिया छानबिन गर्न प्रधानमन्त्री तयार हुने कि नहुने ?,’ प्रचण्डले बिहीबार संसद्को बैठकमा भनेका थिए ।
प्रचण्डले संसद्मा तथ्यहीन र भ्रमपूर्ण कुरा गरेर देशलाई झुक्काएको गिरीले आरोप लगाए । ‘३५ वर्षमा गर्न नसकेको समृद्धिका लागि ६ दिन अगाडि अध्यादेश ल्याउनु पर्यो भनेर प्रश्न गर्नुभयो । ३५ वर्षमध्ये १८ वर्षमा माओवादी पनि सत्तामा छ । माओवादीले युद्धको आगो नबलेको भए देशले खर्बौंको नोक्सानी बेहोर्न परेको थिएन, देश ५० वर्ष पछि धकेलिएको छ’, उनले भने ।