पोखरा । कोटिहोम आयोजनाको विषयमा उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै पोखरा महानगरपालिकाले भ्याकेट निवेदन दर्ता गराएको छ ।
फेवाताल किनारको बाराही घाट र क्याम्पिङ चौरमा वैशाख र जेठमा गर्न लागिएको कोटिहोम महायज्ञ नरोक्न उच्च अदालत पोखराले फागुन १ मा अन्तरिम आदेश दिएको थियो । कोटिहोम आयोजक मानव सेवा फाउण्डेशनले दिएको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश दिँदै महायज्ञ नरोक्न भनेको थियो ।
त्यो आदेश वेरितको भन्दै पोखरा महानगरपालिकाले सोमबार आदेश रद्द गर्न निवेदन दर्ता गराएको छ । मेयर धनराज आचार्यको तर्फबाट महानगरपालिकाका कर्मचारी सोमथान लम्सालले वारेसमा निवेदन दिएका हुन् । ६ पेज लामो निवेदनमा लेकसाइडमा के कारणले महायज्ञ आयोजना गर्न उपयुक्त छैन भन्ने कुरा उल्लेख गरिएको छ ।

कोटिहोम गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिनभित्रै तालको सीमांकन सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ हुन नसक्ने जिकिर महानगरपालिकाको छ ।